Logo
Logo

पर्यटनमन्त्रीद्वारा बतास समूहले संचालन गरेको होटल निरीक्षण


2.8k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको आइतबार निरीक्षण गरेका छन् ।

‘नेपाल–भारत मैत्री धर्मशाला’ भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान होटलमै पुगेर निरीक्षण गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री आलेले यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशालाको निरीक्षण गर्न आएको बताए । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएर सञ्चालन गर्दै आएको छ ।

भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ । सो होटलमा बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्रको तिलगंगामा धर्मशाला बनाइएको थियो ।

सो धर्मशालामा महँगो होटल मात्रै नभई बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।

बतास समूहले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेकै निर्देशनमा रोक लगाईएको थियो । क्याफे सन्चालनका लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइएको छ ।

प्रतिक्रिया दिनुहोस्