Logo
Logo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम कछुवा गतिमा, छैटौँपटक म्याद थप



बुटवल । चार वर्षअघि नै सकिनुपर्ने राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम उपकरण जडान हुन नसक्दा क्यालिबे्रशन (टेष्ट फ्लाइट) समेत हुन सकेको छैन ।

कोरोना महामारीका बेला विमानस्थलको काम सुस्त गतिमा भएपछि टेस्ट उडानसमेत हुन सकेन । क्यालिब्रेशन फ्लाईटका लागि थाईल्याण्डबाट जहाजसहितको टोली आउन नसक्दा ढिलाइ भएको हो । यस राष्ट्रिय गौरवको आयोजनाका लागि छैठौँ पटक म्याद थपिसकिएको छ ।

हरेक पटक संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री र उच्च नेताहरु रुपन्देही आउँदा दुईचार हप्तामै काम सकिने र विमान सुचारु हुुने बताउने गरेका छन् । तर, टेष्ट उडान अझै हुन सकेको छैन ।

गएको वैशाखमा उद्घाटन गर्ने तयारीसमेत गरिएको थियो । यसबारे सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म सर्वज्ञले थाई एयरले क्यालिवे्रबन फ्लाईट गर्न तयार भएपनि विमानस्थलमा केही उपकरण जडानको काम बाँकी रहेकाले हुन नसकेको बताए ।

अध्यक्ष सर्वज्ञले ठेकेदार र कर्मचारीका कारण निर्माणमा ढिलाइ भएको दावी गर्दै आफुहरु गृहमन्त्री, पर्यटन तथा नागरिक उड्यन मन्त्रीसमक्ष निर्माण र टेष्ट उडान छिटो सम्पन्न गराउन पहल गरिदिन पटक पटक आग्रह गरेको बताए ।

उता, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले पनि निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल समयमा सक्ने पहल गर्न सरोकारवालाहरुस्ँग भेटघाट र छलफल गर्दै आएको बताए ।

पहिलो लकडाउन सुरु हुनुअघि बिदामा चीन गएका चिनियाँ दक्ष जनशक्ति कोरोना संक्रमणका कारण आउन नसक्दा आयोजनाको काममा केही असर परेको बताइन्छ । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएकाले विमानस्थलमा दक्ष जनशक्ति प्रायः चीनकै थिए ।

लकडाउनको क्रममा अनेकन समस्या आएपनि काम सुस्त गतिमा भइरहेको थियो । तर, अहिले टेस्ट उडान नै प्रभावित भएकाले यो आयोजना सकिन अझ केही समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

अर्कोतिर आर्थिक समस्याका कारण पनि यो आयोजनाले पहिल्यैदेखि समस्या झेल्दै आएको थियो । चिनियाँ प्राविधिक नआएपछि केही भारतीय दक्ष कामदार ल्याएर आयोजनाको काम सक्ने तयारी गरिएको थियो ।

यद्यपि, दोस्रोपटक निषेधाज्ञा जारी भएका कारणका वैशाखमा उद्घाटन गर्ने तयारी गरिएको भएपनि टेस्ट उडान हुन सकेन । अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै आयोजनाको काम प्रभावित हुने देखिन्छ ।

सुरुमा ठेकेदारको लापरबाही र व्यवस्थापकीय कमजोरीका कारण निर्माणको काममा ढिलाइ भएको थियो । चार वर्षअगाडि सकिनुपर्ने राष्ट्रिय गौरवको आयोजनामध्येकै एक यो आयोजनाको निर्माणकार्य सम्झौता बमोजिम हालसम्म ९९ प्रतिशत काम सकिएकोे आयोजनाका मेकानिकल इन्जिनियर श्रीधर भट्टराई बताउँछन् ।

एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थलको निर्माणकार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ । २०७१ माघ १ गतेदेखि औपचारिक रुपमा निमार्ण सुरु भएको यस आयोजनाको सिलान्यास तत्कालीन प्रधानमन्त्री ससशील कोइरालाले गरेका थिए ।

६ अर्ब २२ करोड रुपैयाँ लगानीमा आयोजनाको निमार्ण कार्य सन् २०१५ जनवरी १ मा सुरु भएको थियो । जुन विमानस्थल सन् २०१७ को अन्त्यसम्ममा सम्पन्न गर्ने जिम्मा ठेकेदार कम्पनीले पाएको थियो ।

तर, पछि आयोजनाको केही काम थपिएपछि चाइनिज कम्पनीको तर्फबाट (आईसिबी १) कूल रकम ६ अर्ब ८२ करोड पुग्यो भने एरो थाईतर्फको (आईसिबी २) काम भ्याटसहित ५० करोडको हो । निर्माणको रेखदेखमा संलग्न इन्जिनियर त्रिभुवन श्रेष्ठका अनुसार हाल फर्निचर र किलिनिङ्ग काम भइरहेको छ ।

हाल १५ सय मिटरको धावन मार्गमा सञ्चालन भइरहेको सिद्धार्थ गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी ३ हजार मिटरको धावनमार्गसहित अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाइँदै छ । अहिले सोही धावनमार्ग प्रयोग गरी घरेलु उडान गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका निमित्त महाप्रबन्धक सुरेसप्रसाद खनाल बताउँछन् । उनी भन्छन्, ‘नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि १ सय ५१ जना कर्मचारीको दरबन्दी स्वीकृति भएको छ ।’

केही बर्षअघिसम्म ६/७ वटामात्र उडान हुने गरेको भैरहवा विमानस्थलमा कोरोना सुरु भएयता यात्रुको चाप र मौसम राम्रोे हुँदा दैनिक २८ उडानसम्म हुने गरेको छ ।

हालसम्म भौतिक पूर्वाधारको निमार्णअन्तर्गत धावनमार्ग, आधुनिक टावर, सुरक्षा भवन, विमानस्थल सडक, घाघँरा नदी डाइभर्सन, पार्किङवे एप्रोन, ट्याक्सीवे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, लाइटसलगायतका संरचनाहरु बनाउनेजस्ता काम सकिएको छ ।

अर्कोतर्फ ठेकेदारले समयमा रकम पाउन नसकेकाले यहाँको काम कछुवा गतिमा हुँदै आएको छ । सन् २०१८ भित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित विमानस्थल निर्माण सुरु गरिएपनि चौथोपटक सन् २०२० को मार्च ३० सम्मका लागि म्याद थपेको थियो । उक्त अवधिमा उपकरण ल्याएर जडान भइनसक्ने अवस्था देखिएपछि पाँचौँपटक सन् २०२१ को जुनसम्मका लागि म्याद थप भएको थियो । त्यसपछि छैठौँ पटक म्याद थपिएको छ ।

क्षेत्रफलको हिसाबले यो विमानस्थल काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलभन्दा ठूलो छ । यसको स्तरोन्नतिपश्चात यो विमानस्थलमा एयरबसको ए–३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गर्न सकिने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्