Logo
Logo

राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’को संकेत



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा आउने चर्चा बेलाबेला चल्दै आएको छ । गत सोमबार नेकपाको हीरक महोत्सवमा नेकपा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेपछि उनी सक्रिय राजनीतिमा आउने चर्चाले झनै व्यापकता पाएको छ ।

राष्ट्रपतिको दुई कार्यकाल सम्हालेका भण्डारी आफैले पनि सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै आएका छन् । सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी निर्वाह गरेर दुई वर्षअघि बिदा भएकी भण्डारीले सरकारी सुविधा नलिने घोषणा गरेर त्यसबेला नै राजनीतिमा फर्किने संकेत गरेका थिए ।

२०७९ फागुन २९ गते राष्ट्रपतिबाट बिदा भएपछि उनले सक्रियता पनि बढाउँदै आएका छन् । अहिले एमालेमा भण्डारी प्यानलै बनेको र जिल्लास्तरीय  अधिवेशनमा उक्त प्यानले नै प्रतिस्पर्धा गरिरहेको समेत बताइन्छ । गत सोमबार एमालेको कार्यक्रममा भण्डारीको उपस्थिति, वामपन्थी दलहरूलाई मिल्न दिएको सुझावले पनि उनी पुनः सक्रिय राजनीतिमा फर्किन लागेकी हुन कि भन्ने छनक दिएको छ ।

त्यस्तै, आगामी जेठ १६ र १७ गते हुने २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा गर्ने निर्णय जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठकले गरिसकेको छ  ।

यसले पनि पूर्व राष्ट्रपति भण्डारी पुनः सक्रिय राजनीतिमा आउने सम्भावनालाई बढाएको छ । एमालेका केही नेताहरूले पनि आगामी महाधिवेशनबाट भण्डारीलाई पार्टी अध्यक्ष बनाउनु उचित हुने बहस चलाइरहेका छन् । 

पूर्व राष्ट्रपति भण्डारी धेरै कारणले एमालेको राजनीतिमा सक्रिय हुन सक्ने पार्टी वृत्तमा चर्चा छ  । नवौँ राष्ट्रिय महाधिवेशनपछि तत्कालीन अध्यक्ष केपी ओलीपछिको शक्तिशाली उपाध्यक्षका रूपमा भण्डारीले राष्ट्रपति निर्वाचित हुनुअघि अलग्गै समूह निर्माणको कसरतसमेत गरेका थिए ।

खासगरी पछिल्लो पटक भण्डारीलाई राष्ट्रपति बनाउन ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोडबल गरेका थिए  । सिनियर नेताहरू झलनाथ खनाल र सुवास नेम्वाङ राष्ट्रपतिको आकांक्षी भए पनि वरिष्ठ नेता माधवकुमार नेपालको समेत साथ लिएर ओली भण्डारीलाई दोस्रो पटक राष्ट्रपति बनाउन सफल भएका थिए ।

भण्डारी पुनः राजनीतिमा सक्रिय बन्न सक्ने पहिलो आधार तत्कालीन महासचिव मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासत भएको एमालेका थुप्रै नेता–कार्यकर्ता चर्चा गर्ने गरेका छन् ।

मदनले अगाडि सारेको जबजको सिद्धान्तको जगमा एमाले संसदीय राजनीतिमा ठूलो दलका रूपमा स्थापित भएकाले राष्ट्रपति भइसकेपछि पनि विरासतका रूपमा विद्यालाई प्रमुख नेतृत्व स्विकार्न र पार्टीलाई स्थापित गर्न सहज हुने बुझाइ एमालेको ठूलो पंक्तिमा छ  ।

मदनको विचारलाई सामाजिक काम र विकासमार्फत जोड्न मदनकै नाममा फाउन्डेसन, प्रतिष्ठान, स्पोर्टस् एकेडेमी, स्वास्थ्य प्रतिष्ठान, प्राविधिक शिक्षालयदेखि विश्वविद्यालय स्थापना गर्नेसम्मको काम एमालेले गरेको छ । 

भण्डारी स्वयंले पनि राष्ट्रपति भएकै वेला राजनीतिको ‘कमब्याक’का लागि आधार बनाइसकेको धेरैको विश्लेषण छ  । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद्बाट पारित गरेर पठाएको नागरिकता विधेयक रोकेर निष्क्रिय बनाएकोमा उनीमाथि संविधान उल्लङ्घन गरेको आरोप लागेको थियो ।

राष्ट्रपति समर्थकले भने संविधानभन्दा माथि उठेर राष्ट्र बचाउन देशको अभिभावकीय भूमिका खेलेको भन्दै उनको बचाउ गरेका थिए । त्यहीवेला एमालेभित्रका प्रभावशाली दुई युवा नेता गोकुल बाँस्कोटा र हिक्मत कार्कीले त राष्ट्रपति भण्डारी राजनीतिमा फर्किनुपर्ने पक्षमा वकालत गरेका थिए । 

त्यसो त, तत्कालीन नेकपाभित्र ओली र प्रचण्डबीच विवाद चर्किँदा मत्थर बनाउन मात्र होइन, सम्झौता गराउनसमेत भण्डारीले सहजकर्ताको भूमिका खेलेकी थिइन्  । पार्टीभित्रका प्रभावशाली नेताहरू विष्णु पौडेल, भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्टलगायतसँग पनि भण्डारीको व्यक्तिगत सम्बन्ध मानिन्छ ।

भण्डारीसँगको सम्बन्धका कारण पार्टी फुट्दा पनि योगेश एमालेमै रोकिएको एकाथरीको बुझाइ छ  । राष्ट्रपति हुँदा मुख्यमन्त्री, मन्त्री, सांसद, मनोनीत सांसद, संवैधानिक नियुक्तिदेखि पार्टीका मनोनीत केन्द्रीय सदस्यसम्म भण्डारीको कुरा सुन्नुपर्ने बाध्यतामा ओली पर्दै आएकाले उनी सक्रिय राजनीतिमा आउँदा शक्तिशाली नेताकै रूपमा स्थापित हुन सक्ने बताइन्छ ।

तर, राष्ट्रप्रमुख भइसकेको व्यक्ति सामान्यतः सक्रिय राजनीतिमा आउँदैनन् । पूर्व राष्ट्रपति रामवरण यादव पनि राजनीतिबाट टाढै छन् । तर, सोमबारको घटनाले भने ढिलो चाँडो पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने हो की भन्ने प्रश्नलाई थप बल पुर्याएकाे छ । 

प्रतिक्रिया दिनुहोस्