Logo
Logo

नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेकी छन् । साथै उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गरेकी छन् ।

युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२औँ सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक भएको बताइन् ।

उनले जलवायु परिवर्तनका असर घटाउन तथा अनुकूलता र समावेशीरूपमा ऊर्जा सुनिश्चिताका लागि पनि नवीकरणीय ऊर्जाको विकास अपरिहार्य भएको बताए ।

भौगोलिक बनावटका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको, जलवायु परिवर्तनले जनजीवनमा उच्च प्रभाव पारेको बताउँदै मन्त्री भुसालले अतिकम विकसित मुलुक नेपालले विगत र वर्तमानमा विश्वव्यापी कार्वन खपतमा महत्वपूर्ण योगादन गरेको यथार्थ सुनाइन् ।

नवीकरणीय ऊर्जाका क्षेत्रमा विश्वसामु नेपालले सुदृढ प्रतिबद्धता व्यक्त गर्दै आएको, सन् १९९६ देखि यस क्षेत्रमा राज्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) स्थापना गरेर नवीयकरणीय ऊर्जाको प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘हरित जलवायु कोषबाट आधुनिक, प्रभावकारी एवं जलवायुमैत्री ऊर्जा प्रवद्र्धनका लागि रु दुई अर्ब १० करोडभन्दा बढी अनुदान स्वीकृत भएको छ ।’

प्रतिक्रिया दिनुहोस्