Logo
Logo

प्रदेश २ को नाम ‘मधेस’ राख्ने प्रस्तावमा मतदान हुँदै, प्रस्ताव पारित हुने मधेसवादी दलको विश्वास



काठमाडौं । प्रदेश नम्बर २ को नाम ‘मधेस’ राख्नु पर्छ भन्ने प्रस्तावको पक्षमा केही बेरमा सुरु हुने प्रदेशसभा प्रदेश २ को बैठकमा मतदान हुँदैछ ।

केही समय अगाडि प्रदेशको राजधानी ‘जनकपुरधाम’ कायम गरेको प्रदेशसभा प्रदेश २ को बैठक केही बेरमा बस्दैछ । उक्त बैठकले प्रदेशको नाम टुंगो लगाउने भएको हो ।

बैठकमा पहिलो एजेण्डाको रुपमा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्छ भन्ने प्रस्तावमा छलफल हुने भएको छ । उक्त प्रस्ताव पारित भए प्रदेश २ को नाम ‘मधेस’ हुनेछ ।

प्रस्ताव दुईतिहाइ बहुमतसहित पारित हुने मधेसवादी दलको विश्वास रहेको छ । दृष्टिन्यूजसँग कुरा गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा)का कार्यकारिणी सदस्य तथा प्रदेशसभा सदस्य मनिष सुमनले आजको बैठकबाट प्रदेश २ को नाम ‘मधेस’ कायम हुने दावी गरेका छन् । उनले भने– ‘आजको बैठकले प्रदेशको नाम टुंगो लगाउँछ । ‘मधेस’ नामको प्रस्तावले दुईतिहाइ भन्दा धेरै मत प्राप्त गर्नेछ । हामी विश्वस्त छौं ।’

यसअघि ‘मधेस’ नाममा कांग्रेस र एमालेको असहमति रहँदै आएको थियो । तर, वर्तमान सत्ता गढबन्धनका आधारमा कांग्रेसले पनि ‘मधेस’ कै पक्षमा मतदान गर्ने मधेसी दलको विश्वास रहेको छ । नेकपा माओवादी केन्द्रले यसअघि नै नाम ‘मधेस’ नै हुनुपर्ने पक्षमा मत जाहेर गरिसकेको छ ।

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)को ३९, नेपाली कांग्रेसको १९, लोकतान्त्रिक समाजवादी पार्टीको १६, नेकपा एकीकृत समाजवादीको १३, नेकपा एमालेको ८, नेकपा माओवादी केन्द्रको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ प्रदेशसभा सदस्य रहेका छन् ।

प्रदेशको नाम राख्ने सवालमा वर्तमान सत्ता गठबन्धन एकमत हुने हो भने गठबन्धनको मत ७९ हुन्छ । उक्त संख्या दुईतिहाइ हो । तर, कांग्रेस र एकीकृत समाजवादीका सबै सांसदले ‘मधेस’ नाममा मतदान नगर्नेसमेत चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्