Logo
Logo

मन्त्री आउँछन्, गफ दिन्छन् जान्छन्


दामोदर खनाल


बुटवल । चार वर्षअघि नै सकिनुपर्ने राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम केही उपकरण जडान र क्यालिबे्रशन (टेष्ट) फ्लाइट हुन नसक्दा ढिलाइ भइरहेको छ ।

कोरोना संक्रमणका बेला विमानस्थलको काम सुस्त गतिमा जारी रहे पनि टेस्ट उडान भने हुनसकेको छैन । क्यालिब्रेशन (टेस्ट) फ्लाइटका लागि थाइल्याण्डबाट जहाजसहितको टोली आउन नसक्दा निर्माणकार्य अझ लम्बिने देखिन्छ । राष्ट्रिय गौरवको आयोजना भए पनि यो आयोजनाको छैटौँपटक म्याद थपिइसकेको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ‘ग्राण्ड ह्याण्डलिङ’को जिम्मा नेपाल वायुसेवा निगमलाई दिइए पनि ग्राउण्ड ह्याण्डलिङका लागि चाहिने साधन अहिलेसम्म आइपुगेको छैन । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका लागि आवश्यक सामग्रीको टेण्डर तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारको समयमा दुई वर्ष अगाडि भए पनि पटक–पटक व्यवस्थापन परिवर्तन भएको कारण टेण्डर स्वीकृत भएको छैन । निगमका कर्मचारी संगठन स्रोतका अनुसार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटनमन्त्री प्रेम आलेले निर्देशन नदिएसम्म टेण्डर स्वीकृत नगर्ने भनेर अडान लिएका छन् । मन्त्री आलेको टेण्डरसँग के सम्बन्ध रहेछ भनेर निगम कर्मचारीहरुले मन्त्री आलेको नियतमाथि शंका उठाएका छन् ।

हरेकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र उच्च नेताहरु रुपन्देही आउँदा दुई÷चार हप्तामै काम सकिने र विमान सुचारु हुने बताइँदै आएको पनि एक वर्ष बितिसक्यो तर टेष्ट उडान अझै हुनसकेको छैन । गएको वैशाखमा उद्घाटन गर्ने तयारीसमेत गरिएको थियो ।

यसबारे सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म सर्वज्ञले केही हप्ता अगाडि थाइएअरले क्यालिव्रेशन फ्लाइट गर्न तयार भए पनि विमानस्थलमा केही उपकरण जडानको काम बाँकी रहेको हुँदा हुननसकेको जानकारी दिए । अध्यक्ष सर्वज्ञले ठेकेदार र कर्मचारीका कारण निर्माणमा ढिलाइ भएको दाबी गर्दै आफूहरु गृहमन्त्री, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष निर्माण र टेष्ट उडान छिटो सम्पन्न गराउन पहल गरिदिन पटक–पटक आग्रह गरेको पनि बताए ।

हुन त विमानस्थलको निर्माणले यस क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र सर्वसाधारणमा उत्साह बढाएको छ । स्थानीय उद्योगी, व्यवसायी अवसरको आशामा होटल रिसोर्टलगायतका क्षेत्रमा लगानी पनि बढाएका छन् । विश्वमा परिचित लुम्बिनीको अन्तर्राष्टिय क्षेत्रमा सिधैँ कनेक्सन हुने भएकाले यस क्षेत्रको पर्यटन विकासमा थप आशासमेत गरिएको छ ।

उता, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजूले पनि यो निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल समयमा सकाउन पहल गर्दै सरोकारवाला भेटघाट र छलफल कार्यक्रमसमेत आयोजना गरेको बताउँछन् । पहिलो लकडाउन सुरु हुनुअघि बिदामा चीन गएका चिनियाँ दक्ष जनशक्ति कोरोना संक्रमणका कारण आउन नसक्दा आयोजनाको काममा केही असर परेको हो । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले पाएकाले विमानस्थलमा दक्ष जनशक्ति प्रायः चीनकै थिए ।

लकडाउनको क्रममा अनेकन समस्या आए पनि काम सुस्त गतिमा भइरह्यो । तर अहिले टेस्ट उडानको काम नै प्रभावित भएकाले यो आयोजना सकिन अझ केही समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् । हरेकपटक आयोजना अवलोकन गर्न आउने मन्त्री र सरोकारवाला निकाय आउँदा दुई–चार महिनामै उडान सुरु हुने बताउँदै आइएको पनि वर्षौँ बित्यो । कोभिडका कारण लामो समयदेखि निर्माण कार्यमा संलग्न काम विशेषले चीन पुगेका चिनियाँ प्राविधिक कामदार नेपाल फर्किन सकेनन्, केही नेपाली र भारतीय कामदारको सहयोगमा सुस्त गतिमा काम भइरह्यो ।

अर्कोतिर आर्थिक समस्याका कारण पनि यो आयोजनाको कामले पहिल्यैदेखि समस्या झेल्दै आएको थियो । चिनियाँ प्राविधिक नआएपछि केही भारतीय दक्ष कामदार ल्याएर आयोजनाको काम सक्ने तयारी गरिएको थियो । यद्यपि, दोस्रोपटक निषेधाज्ञा जारी भएका कारणका वैशाखमा उद्घाटन गर्ने तयारी गरिएको भए पनि निर्माणको काम अझ नसकिएको मात्र होइन, टेस्ट उडानको काम नै हुनसकेको छैन । अब नयाँ ओमिक्रोन भेरियन्टले पनि आयोजनाको काम प्रभावित हुने निश्चित छ ।

सुरुका दिनमा ठेकेदारको लापरवाही र व्यवस्थापकीय कमजोरीका कारण निर्माणको काममा ढिलाइ भएको हो । चार वर्ष अगाडि सकिनुपर्ने राष्ट्रिय गौरवको आयोजनामध्येकै एक यो आयोजनाको निर्माणकार्य सम्झौताबमोजिम हालसम्म ९९ प्रतिशत काम सकिएकोे आयोजनाका मेकानिकल इञ्जीनियर श्रीधर भट्टराई बताउँछन् ।

एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थलको निर्माणकार्य चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन एअरपोर्ट कन्स्ट्रक्शनले गर्दै आएको छ ।

यो आयोजनाको २०७१ माघ १ गतेदेखि औपचारिकरुपमा निर्माणकार्य शुभारम्भ भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यसको शिलान्यास गरेका थिए । ६ अर्ब २२ करोड रुपैयाँको यो आयोजनाको निर्माणकार्य सन् २०१५ जनवरी १ मा शुरु भएको थियो । जुन विमानस्थल सन् २०१७ को अन्त्यसम्ममा सम्पन्न गर्ने जिम्मा पाएको थियो । पछि आयोजनाको केही काम थपिएपछि चाइनिजतर्फको (आइसिबी १) कूल रकम ६ अर्ब ८२ करोड पुगेको छ भनी एरोथाइतर्फको (आइसिबी २) काम भ्याटसहित ५० करोडको हो ।

यसैगरी काठमाडौँ आउने अन्तर्राष्ट्रिय उडानका जहाज यहाँ अवतरण गर्ने विकल्प पनि तयार हुने छ । निर्माणको रेखदेखमा संलग्न इञ्जीनियर त्रिभुवन श्रेष्ठ बताउँछन् फर्निचर र किलिनिङ काम भइरहेको छ । गएको मार्चमा टेष्ट उडान हुने भनिए पनि विविध कारणले त्यो हुनसकेको छैन । कोभिडका कारण टेस्ट उडान प्रभावित भएको इञ्जीनियर श्रेष्ठको भनाइ छ ।

हाल १५ सय मिटरको धावनमार्गमा सञ्चालन भइरहेको सिद्धार्थ गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी ३ हजार मिटरको धावनमार्गसहित अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनेको छ । अब धावनमार्ग प्रयोग गरी घरेलु उडान गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका निमित्त महाप्रबन्धक सुरेशप्रसाद खनाल बताउँछन् । उनी भन्छन्– नयाँ अन्तर्राष्टिय विमानस्थल सञ्चालनका लागि १५१ जना कर्मचारीको दरबन्दी स्वीकृति भएको छ । हुन त घरेलु उडान केही वर्ष पहिलेसम्म छ–सातवटा मात्र उडान हुने गरेको यो भैरहवा विमानस्थलमा कोरोना सुरु भएयता यात्रुको चापले मौसम खराब हुँदा हाल करिब १८ वटा र मौसम राम्रोे हँुदा दैनिक २८ उडानसम्म हुने गरेको छ । निमित्त महाप्रबन्धक खनालले राति ११ बजेसम्म उडान हुने गरेको र यात्रुलाई बस्न र प्लेनका लागि ट्राफिकको समेत समस्या रहेको बताउँछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दश करोड मूल्यका ३ वटा आधुनिक दमकल अष्ट्रियाबाट ल्याइएको छ भने एम्बुलेन्सको पनि व्यवस्था भइसकेको छ । तर, ग्राउण्ड ह्याण्डलिङका कुनै पनि सामग्री ल्याइएको छैन । यसमा निगमको कमजोरी देखिन्छ । भैरहवाको ग्राउण्ड ह्याण्डलिङका लागि आवश्यक उपकरण खरिद गर्न दुई वर्ष अगाडि टेण्डर भए पनि ती टेण्डर त्यत्तिकै थन्किएर बसेका छन् । यो विमानस्थल काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलभन्दा क्षेत्रफलको हिसाबले पनि ठूलो छ । यसको स्तरोन्नतिपश्चात यो विमानस्थलमा एयरबसको ए–३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गर्न सक्नेछ । विमानस्थलको निर्माणकार्यपश्चात काठमाडौँस्थित एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अधिक चाप नियन्त्रण गर्न सहयोग पुग्ने प्राविधिकहरुको भनाइ छ । यसैगरी यो विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रको घार्मिक, आथिर्क र पर्यटन विकासले निकै फड्को मार्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्