Logo

गुलामी र बद्‍नामीको अर्को रुप पिर्के सलामी !



टेवल वा पिर्कामाथि चढेर जनप्रतिनिधिले ग्रहण गर्ने सलामी बारम्बार चर्चामा आइरन्छ । पछिल्लो चार वर्षमा यस्ता धेरै सलामीले चर्चा पायो । स्थानीय जनप्रतिनिधि, प्रदेश, संघीय संसद र मन्त्रीहरूले मौका पाउनसाथ पिर्का वा टेवलमाथि चढेर सलामी खाएका ती तस्बिरले क्षणमै सामाजिक सञ्जाल ढाकिन्छ । र, ‘भाइरल’ बन्छ । त्यसपछि जनप्रतिनिधि आलोचनाको पात्र बन्छ ।

जनप्रतिनिधिले पञ्चायती शैलीमा सलामी लिएको भन्दै सर्वत्र आलोचना हुन्छ । र, पनि सलामी दिने र लिनेक्रम रोकिएको छैन । तस्बिर हेर्दै कौकुति लाग्नेगरी कसैले पिर्कामा, कसैले कुर्सी वा टेबुलमा चढेर सलामी ग्रहण गरेकै छन् ।

विद्यालयमा विद्यार्थीको सलामी, खेलकुद कार्यक्रममा खेलाडीको सलामी, कुनै उद्घाटन समारोहमा गयो त्यहीँ सलामी, सुरक्षा बलका कार्यालयमा पुग्दा पनि सलामी । जताततै सलामी नै सलामी । बरु गणतन्त्र स्थापनाअघि यस्ता सलामीहरू त्यति देखिँदैन थिए ।

वडा अध्यक्षले नै सलामी खाएपछि प्रदेश र संघका सांसद, मन्त्रीहरूले सलामी नखाने कुरै भएन । सलामीहरूको भीडमा केही समयअघि सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सलामीले पनि चर्चा पायो । उनको पिर्के सलामीको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो । उत्तिकै उनको आलोचना पनि भयो ।

सलामीले आलोचित हुने झाँक्री पहिलो मन्त्री भने होइनन् । यसअघि केही मन्त्रीहरू सलामीले आलोचित भएका थिए । पूर्वमन्त्रीहरू प्रेमबहादुर सिंह, अर्जुननरसिंह केसी पिर्के सलामीले निकै आलोचित बनेका थिए । त्यस्तै, गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि पिर्के सलामीका कारण आलोचना खेपेका थिए ।

अधिकांश जनप्रतिनिधि आफूलाई ‘छोटे राजा’ ठन्छन् । कोही स्कर्टिङ खोज्छन्, कोही सलामी । उनीहरूको भीआइपी मोहले प्रहरीलाई हैरान ! उनीहरूले गणतन्त्रको मर्म भुलिसके ! सलामी अर्पण गर्ने पनि उस्तै । छोटे राजालाई खुसी बनाउने दुनो सोझ्याउने । त्यसैले सलामी गुलामी र बदनामी बन्यो ।

केही समयअघि मन्त्री झाँक्रीले गृह जिल्ला गुल्मी पुगेर पिर्के सलामी खाइन् । यो विषय उनका लागि पेचिलो बन्यो । उनी अरुभन्दा बढी आलोचित भइन् । विगतमा आफैँले यस्ता प्रवृत्तिको विरोध गर्ने झाँक्रीले आफू पदमा पुगेपछि सलामी ग्रहण गर्दा आलोचना खेप्नु पर्यो ।

करिब १५ महिनाअघि अरूलाई उडाएकी मन्त्री झाँक्री आफैँ आलोचनाको सिकार भइन् । उनले आफू मन्त्री हुनुअघि सामाजिक सञ्जालमा सरकार र पार्टीका कार्यक्रममा ‘चाकडीका साधन’का रूपमा प्रयोग हुने माला, खादा, गम्छा, पिर्का, तुल प्रतिबन्ध लगाउनुपर्ने भनेकी थिइन् ।

विरोध भएपछि प्रयाः सबैले बाध्यताले सलामी लिने गरेको बताउँछन् । मन्त्री झाँक्रीले पनि आलोचना हुन्छ भन्ने जान्दा जाँदै सलामी लिएको बताइन् । सलामीको चर्को विरोध भएपछि पूर्वमन्त्री सिंहले भनेका थिए– ‘जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रममा गएको थिएँ, बसेको होटलको बाहिर प्रहरीले सलामी दिन थाल्यो, बाध्य भएर लिएँ ।’

सलामी विशिष्ट व्यक्तिलाई सुरक्षा निकायले दिने एउटा सम्मान हो । सलामी ग्रहण गर्नु सम्मानप्रतिको आदर हो । तर, वडा अध्यक्ष तथा वडा सदस्यहरूले समेत सलामी लिएपछि सामाजिक सञ्जालमा आलोचनाका वाणहरू प्रहार हुनु स्वभाविक नै हो ।

आफ्नो जनप्रनिधिलाई सम्मान गर्नु र आफ्ना मतदातास्तरबाट सम्मानित हुनु जनता र जनप्रतिनिधि दुवैको अधिकार हो । तर, सबै कुरामा हद हुन्छ । एउटा प्रचलित भनाइ छ– ‘बढी खायो भने चिनी पनि तीतो हुन्छ ।’ सलामी पनि त्यस्तै भएको छ । जनप्रतिनिधिले आफू ‘सम्मानको लायक छु कि छैन’ भनेर कहिल्यै हेक्का राख्दैनन् । सलामी पायो कि लिइहाल्ने ।

दिने पनि उस्तै । जनप्रतिनिधि खुशी पार्न सलामी दिन्छन् । सुरक्षाकर्मीको पनि आफ्नै बाध्यता । नेता तथा उच्चपदस्थ अधिकारीलाई नरुझाएसम्म आफ्नो काम बन्दैन । उनीहरूलाई प्रभावित पार्न र रिझाउन सलामी ठोक्नै पर्याे । चाकडी गर्नैपर्याे । पहिले सीमित उच्चपदस्थलाई रिझाउँदा पुग्थ्यो, तर अहिले स्थानीय तहदेखि संघीय सरकारका अधिकारीलाई समेत रिझाउनुपर्छ । त्यसैले पनि सलामीको प्रचलन बढ्दो छ ।

आफ्नो स्वार्थका लागि सलामी दिने धेरै भएपनि उनीहरूप्रति अहिलेसम्म कसैले प्रश्न उठाएका छैनन् । सलामी ग्रहण गर्ने मात्रै आलोचित हुने गर्छन् । सायद, कसैले पनि भन्दैनन् ‘मलाई सलामी खान मन लाग्यो, देउ ।’ त्यसैले सलामी खानेको मात्रै होइन, दिनेको पनि गल्ती छ । खानेलाई मात्रै गाली गरे अन्याय हुन्छ ।

अर्कोतर्फ अधिकांश जनप्रतिनिधिले आफूलाई ‘छोटे राजा’को रुपमा लिन्छन् । कोही स्कर्टिङ खोज्छन्, कोही सलामी । उनीहरूको भीआइपी मोहले प्रहरीलाई हैरान ! उनीहरूले गणतन्त्रको मर्म भुलिसके ! जुन मतदाताको भोटले नेता, जनप्रतिनिधि बने, उसैले मतदाता अगाडि आफूलाई प्रतापी देखाउन सलामीको सहारा लिन्छन् । आफूलाई प्रतापी देखाउने मनोदशाले पिर्के सलामी प्रचलन जस्तै बनेको छ । जनप्रतिनिधिले यस्तो मनोदशा हटाउनुर्छ । गणतन्त्रका जनप्रतिनिधिले आफूलाई छोटे राजाको रुपमा हेर्नु हुँदैन ।

केही वर्ष अघिदेखि सलामीबारे प्रश्न उठ्दै आएको हो । तर, हरेकपटक हुने आलोचनाबाट जनप्रतिनिधिले पाठ सिकेका छैनन् । सम्मान दिनु र पाउनु कदापि गलत होइन । तर, यसको व्यवहारिक कार्यान्वयनमा विवेक पुर्याउन आवश्यक छ । सलामी कसलाई दिने र कसलाई नदिने भन्ने मापदण्ड तोक्नु जरुरी छ ।

सलामी संस्कार बन्यो । कुनैपनि मन्त्रीले मलाई सलामी लिन मन छ, सलामी देउ पक्कै भन्दैन । सलामी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षकलगायतका उच्च पदस्थ व्यक्तिलाई दिइन्छ । तर, अहिलेसम्म सलामीको कार्यविधि र मापदण्ड बनेको छैन । परम्पराबाटै सलामी चल्दै आएको छ । जसले गर्दा जनप्रतिनिधि तथा राज्यका उच्च ओहदामा पुगेका व्यक्तिहरूले मनलाग्दी सलामी ग्रहण गर्ने गरेका छन् ।

प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । उल्लेख छैन । जसले गर्दा कतै पिर्का, कतै टेबलमा सलामी दिने विकृति मौलाउँदै गएको छ । सलामीसम्बन्धी मापदण्ड नभएकाले अव्यवस्थित ढंगले सलामी प्रवृत्ति बढेको जानकारहरू बताउँछन् । त्यसैले सलामीलाई व्यवस्थित गर्न कार्यविधि बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्