Logo
Logo

करिब तीन महिनामा ‘विप्लव’ समूहका ४ सय १८ कार्यकर्ता पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ जेठ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई राजनीतिकरूपमा प्रतिबन्ध लगाएको करिब तीन महिनाको यो अवधिमा ४ सय १२ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
सरकारले आपराधिक र विध्वंसात्मक शक्तिका रूपमा परिभाषित गर्दै २८ फागुनमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धको निर्णय लिएको थियो ।
यसबीचको करिब तीन महिनाको अवधिमा प्रहरीले विप्लव निकट ४ सय १२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो । पछिल्लो समय राजधानीमा नै बमको आतंक मच्चाउने गरी गतिविधि सञ्चालन गरेपछि विप्लवप्रति सरकार थप कठोर बनेको छ । सरकारले विप्लवका नेता कार्यकर्तालाई हत्या हिंसाका घटनामा लागे छुट नदिने बताउँदै आएको छ भने यस्ता गतिविधिलाई अमानवीयसमेत भनेको छ ।
प्रहरीले पक्राउ गरेका मध्ये ५४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने १ सय १४ जना अनुसन्धानको क्रममा रहेका छन् । यस्तै ३ सय ६९ जना नेता कार्यकर्ता्विरुद्ध यसबीचमा प्रहरीमा मुद्दा दर्ता भएको छ । यस्तै २ सय २० जना मुद्दा दर्ता भई छुटेका छन् भने ३० जना सोधपुछपछि नै छुटेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आपराधिक क्रियाकलापमा संलग्न समूहलाई सरकारकै नीतिअनुसार प्रहरीले कडा निगरानीमा राख्दै आएको बताए । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्