बनियानी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा सो अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख निशेष चापागाईंले जानकारी दिए ।
जिल्लाभरका १९ वटा ट्राफिक प्रहरी बिटमा कार्यरत ट्राफिक प्रहरीलाई परिचालन गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए । माघ ४ गतेदेखि सञ्चालित अभियानअन्तर्गत ग्रामीण भेगका ३८ स्थानका सडकमा ट्राफिक चेकिङ, सवारी चालक, सहचालक र सर्वसाधारण गरी एक हजार ६०५ लाई ट्राफिक शिक्षा प्रदान गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै हुस्सु र रातको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा फग लाइट र टल्किने स्टिकर टाँस्न थालिएको छ भने सवारी चालक तथा सहचालकलाई तीव्र गतिमा सवारी साधन नचलाउन निर्देशन दिँदै आइएको प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।
जिल्लामा बढ्दो कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ‘तपाईको माक्स खोइ ?’ अभियानअन्तर्गत सार्वजनिक यात्रुबाहक सवारी साधनमा यात्रा गर्ने यात्रु, चालक र सहचालकलाई अनिवार्य माक्स तथा सेनिटाइजर राख्न निर्देशन दिइएको उनको भनाइ छ ।
सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले ध्यान दिनुपर्ने कुराहरु समेटिएको पर्चासमेत ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियानअन्तर्गत ट्राफिक प्रहरीले गाउँ–गाउँमा वितरण गर्दै आएको छ । गाउँघरमा निर्माण गरिएको नयाँ कालोपत्रे सडकमा ट्रिपर, ट्रक, मोटरसाइकल तथा कार तीव्र गतिमा गुडाउँदा दुर्घटना बढेकाले सोको न्यूनीकरणका लागि पनि अभियान सञ्चालन गरिएको हो ।
‘ट्राफिक प्रहरी सहर केन्द्रित भएकाले गाउँतिर निर्माण गरिएका नयाँ कालोपत्रे सडकमा तीव्ररुपमा सवारी साधन चलाउँदा दिनहुँ दुर्घटना भइरहेको छ’, प्रमुख चापागाईंले भने, ‘त्यसैले गाउँ केन्द्रित अभियान थालिएको हो । अभियान सञ्चालन गरेसँगै ग्रामीण भेगका सडकमा हुने सवारी दुर्घटना न्यून हुँदै गएको बताइएको छ ।











