Logo
Logo

माओवादी प्रदेश १ ले आठ जिल्लाको संयोजक तोक्यो



विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठकले पार्टीको प्रदेश कार्यालय राख्नका लागि आफ्नै भवन बनाउने निर्णय गरेको छ ।

विराटनगरको विष्णुमाया पुस्तकालयमा मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभामा गठबन्धनका उम्मेद्वारलाई मत हाल्न स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई निर्देशन पनि गरेको छ ।

बैठकले प्रदेश कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको छ । माओवादीले विभिन्न तीन कार्यदल पनि गठन गरेको छ । जसमा उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादनसम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोगसम्बन्धी अध्ययन कार्यदल र उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्वेक्षण कार्यदल रहेका छन् ।

बैठकले १४ जिल्लाकै नेताहरुसँगको परामर्शमा जिल्ला संयोजक, निर्वाचन क्षेत्र तथा पालिका इन्चार्ज तोक्ने निर्णय पनि गरेको छ । पार्टीले आगामि फागुन चैतसम्म संगठनात्मक अभियान चलाउने भएको छ । यस्तै वडा तहसम्म महाधिवेशनको मूल भाव सम्प्रेषण गर्न प्रशिक्षण आयोजना गर्ने, पार्टीले गरेका कामको प्रचार गर्ने, एक वडामा न्यूनतम ३ टोल कमिटी निर्माण गर्ने, एक टोल कमिटी ३ सेल कमिटी निर्माण गर्ने, जनवर्गीय संगठन र मोर्चाको बाँकी सम्मेलन वडादेखि गर्दै वैशाखसम्म प्रदेश सम्मेलन गर्ने, पार्टी सदस्य संख्या थप १ लाख ५० हजारलाई वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै पालिका अधिवेशन सक्न बाँकी पालिकालाई माघ मसान्तसम्ममा सक्न पनि बैठकले निर्देशन दिएको छ । माओवादीको प्रदेश समितिको बैठकले आठ वटा जिल्लामा संयोजक पनि तोकेको छ । जसअनुसार खोटाङमा दिपक पाण्डे, उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राई संयोजक तोकिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्