Logo
Logo
राष्ट्रियसभा निर्वाचन

एमाले ६ प्रदेशमा ‘क्लिन स्विप’, सत्ता गठबन्धनलाई प्रदेश १ मा अन्तर्घात



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ सिटका लागि ४३ जना उम्मेदवार प्रतिस्पधार्नमा थिए । मुख्यम त सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार प्रतिस्पर्धी मानिए ।

मतभारको आधारमा सबै प्रदेशमा गठबन्धनले शतप्रतिशत जित्नु पर्ने हो । तर, प्रदेश १ मा अन्तर्घातका कारण सत्तारुढ गठबन्धनले १ सिट गुमायो । अन्य प्रदेशमा भने एमाले ‘क्लिन स्विप’ नै भयो ।

प्रदेश १ को एक सिटमा नेकपा एमालेका उम्मेदवार ग्याल्जेन शेर्पा विजयी भएका छन् । बाँकी १८ वटै सिटमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भए ।

१९ मध्ये पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसका ६ जना उम्मेदवार विजयी भएका छन् । यस्तै नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका ५, जनता समाजवादी पाटीको १ र राष्ट्रिय जनमोर्चाका १ जना उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचनमा देशभर सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए । मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो ।

वागमती प्रदेशमा नेमकिपाले दुबै समूहतर्फ उम्मेदवारी दिएको थियो । रापप्राले समेत प्रदेश १, बागमतीसहित अन्य प्रदेशमा पनि उम्मेदवारी दिएको थियो । तर कुनै पनि प्रदेशको कुनै पनि समूहबाट राप्रपा र नेमकिपाका उम्मेदवार विजयी हुन सकेनन् ।

प्रदेश १ मा सत्ता गठबन्धनलाई अन्तर्घात
प्रदेश १ मा महिला, अन्य, आदिवासी जनजाती गरी तीन सिटमा प्रतिस्पर्धा भएको थियो ।

महिलातर्फको समूहबाट एकीकृत समाजवादीका उम्मेदवार जयन्ती राई विजयी भए । उनका मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार सुमित्रा भण्डारी र राप्रपाबाट रञ्जु प्याकुरेल पराजित भए ।

प्रदेश १ मा अन्यतर्फको समूहबाट कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन् । एमालेका उम्मेदवार गुरुप्रसाद बराल र बस्नेतको मतभार बराबर भएपछि गोला तान्दा बस्नेत विजयी भएका हुन् ।

आदिवासी जनजाति समूह तर्फबाट प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

जसपाका उम्मेदवार हेमराज राईलाई पराजित गर्दै एमालेका शेर्पा विजयी भएका हुन् । मतभारको आधारमा गठबन्धनले नै जित्ने निश्चित भएतापनि अन्तर्घातका कारण गठबन्धनका उम्मेदवार राई पराजित भएका हुन् ।

मधेसमा एमाले गठबन्धनको जोर चलेन
मधेस प्रदेशबाट पाँच दलीय गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।
पाँच दलीय गठबन्धनबाट महिला समूहतर्फ माओवादी केन्द्रका उर्मिला अर्याल र अन्य समूहतफ जसपाका महमद खालिद सिद्धिकी निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा महिला समूहमा माओवादीका अर्यालले लोसपाका रुपाकुमारी यादव र एमालेका उम्मेदवार विनादेवी साहलाई पराजित गरेका हुन् ।

यस्तै अन्य समूहतर्फ जससपाका महमद खालिदले एमालेका उम्मेदवार उसमान अंसारीलाई पराजित गरे ।

बागमती पनि गठबन्धनकै
बागमती प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।

बागमती प्रदेशमा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गोमादेवी तिमिल्सीना महिला समूहबाट र कांग्रेसबाट कृष्णप्रसाद पौडेल अन्य समूहबाट विजयी भएका हुन् ।

एमालेका निरकुमारी कुँवर र नेमकिपाका गीता काफ्लेले महिला समूहबाट प्रतिस्पर्धामा गरेका थिए । यस्तै अन्य समूहबाट एमालेका गोपाल शाक्य र नेमकिपाबाट कृष्णबहादुर तामाङ प्रतिस्पर्धामा थिए ।

बागमती प्रदेशमा महिलातर्फ एक र अन्य समूहतर्फ एक गरी दुई सिटका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

प्रमुख प्रतिपक्षी एमाले र नेमकिपाले छुटाछुटै उम्मेदवारी दर्ता गराएर प्रतिपस्पर्धा गरेका थिए ।

गण्डकीमा एमाले पराजित
गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनतर्फबाट महिला समूहबाट कांग्रेसका कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलिततर्फको समूहमा माओवादीकै भुवन सुनार विजयी भएका हुन् ।

एमालेका लिला थनेत, पुण्य पौडेल र अर्जुनकुमार सुनामलाई पराजित गर्दै उनीहरु विजयी भएका हुन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनकै जित
यता लुम्बिनी प्रदेशमा पनि पाँच दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् । शर्मा अन्य समूह, गैरे महिला समूह र विक दलित समूहबाट विजयी भएका हुन् ।

एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गर्दै उनीहरु विजयी भएका हुन् ।

कर्णाली प्रदेश गठबन्धकै कब्जामा
कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

कर्णाली प्रदेशमा महिला तर्फको एक सिटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसका दुर्गा गुरुङ विजयी भएका हुन । गुरुङ एमालेका गंगा थापा (महत)लाई पराजित गर्दै विजयी भएका हुन् ।

यस्तै, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट विजयी भएका छन् । विष्ट एमालेका पदमबहादुर माझीलाई पराजित गर्दै विजयी भएका हुन् ।

यसैगरी, अन्य समूहतर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा विजयी भएका छन् । बोहरा एमालेका चुडामणि शर्मालाई पराजित गर्दै विजयी भएका हुन् ।

कर्णाली प्रदेशमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यसमूह गरी ३ सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका थिए ।

सुदुर पनि गठबन्धनकै पोल्टोमा
सुदुरपश्चिम प्रदेशमा तीन सिटका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

महिलातर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) विजयी भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका सन्तोषीकुमारी शर्मा (थापा)लाई पराजित गर्दै शाह विजयी भएका हुन् ।

दलिततर्फको एक सिटका लागि भएको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका जगतबहादुर पार्की विजयी भए । पार्की एमालेका उम्मेदवार नरेशकुमार विश्वकर्मालाई पराजित गर्दै विजयी भएका हुन् ।

यसैगरी अन्य समूहतर्फको एक सिटका लागि भएको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका नारायण दत मिश्र विजयी भए । मिश्रले एमालेका उम्मेदवार डिल्लाराज भट्टलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्