Logo
Logo

उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुवै जग्गा कारोबारी


4.3k
Shares

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोमा भेटिएका दुवै शवको पहिचान खुलेको छ ।
उखुबारीमा गाडेको अवस्थामा प्रहरीले गएको बुधबार राति एकजना र बिहीबार दिउँसो अर्को शव उत्खनन गरेको थियो ।

बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको थियो ।

यस्तै अघिल्लो दिन बुधबार खाल्डोबाट उत्खनन गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङका एसपी जनार्दन जिसीले जानकारी दिए । साथै, उनीहरु साथी रहेको समेत खुलेको छ ।

चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । उनी काठमाडौंको क्षेत्रपाटी बस्थे । प्रहरीको अनुसन्धानअनुसार बिहीबार अर्को खाल्डोमा भेटिएका सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्र कुमार श्रेष्ठसँगै उनी काठमाडौंबाट मोरङ गएका थिए । उनीहरु दुवैजना जग्गा कारोबार र ठेक्कापट्टा गर्थे । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् ।

४९ वर्षका राजेन्द्रकुमार श्रेष्ठ र चौधरी काठमाडौंबाट एक महिनाअघि सँगै बिराटनगर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो । उखुबारीमा चौधरीको शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर फेला परेका राजेन्द्र कुमार श्रेष्ठको शव भेटिएको थियो ।

श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । उनका पारिवारका अनुसार राजेन्द्र कुमार श्रेष्ठ बेला–बेला हराइरहन्थे, ८–१० दिनमा घर जान्थे । उनीहरुको हत्या विराटनगरमै भयो अथवा अरु जिल्लामा हत्या गरेर त्यहाँ ल्याएर पुरिएको थियो भन्नेबारे खुल्न सकेको छैन् ।

‘बिराटनगर र अन्यत्र जिल्लामा पनि हत्या गरिएको हुनसक्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने । सँगै विराटनगर गएपछि उनीहरु त्यहाँ कहाँ कहाँ बसेका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्