काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लैख्दै उनले राजीनामा दिएका हुन् । सभापति देउवालाई लेखेको राजीनामा पत्रमा उनले ‘कांग्रेसभित्र आदिवासी जनजातिका मुद्दा उठाउँदा आफ्नो ज्यानको जोखिममा परेको’ जनाएका छन् ।

उनले भनेका छन्, ‘आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा पार्टीको नेतृत्वमा भएकाहरूले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्दा उछाल्नेलाई कसरी सिध्याउँने चिन्ता, परिवारको चिन्ता, धनको चिन्ता, हिन्दू राष्ट्र घोषणाको, धर्म निरपेक्षको खारेजको चिन्ता लिनु नेपाली कांग्रेसले रुखमा भोट माग्नुपर्ने ठाँउमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छाता आदिमा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट–उपगुट समूहमा ध्यान दिने आदि कारणले म आजको मितिदेखि नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशील सदस्यताबाट समेत राजीनामा गर्दछु ।’
पहिलो संविधानसभामा आदिवासी जनजाति सभासद ककसको समेत नेतृत्व गरेका गुरुङ कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन् ।














