Logo
Logo

वैदेशिक रोजगारीसम्बन्धी कल सेन्टर स्थापना


441
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ । सुनुवाइ कक्षको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।

गुनासो सुनुवाइ कक्षको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्य टोली तथा प्रहरीको समेत सहभागितामा मार्सल टोली गठन गरी दोषीलाई कारवाही गर्न सुरु गरिएको बताए ।

वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जोसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता समेत उनले जनाए ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने बताए ।

मन्त्रालयका अनुसार अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ । कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमा कस्ता खालका समस्या र गुनासो आउँछन् त्यसले सरकारलाई नीति निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्थाउपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनवमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोवाइल नम्बरः ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोलफ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४सै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्