काठमाडौं । सत्ता गठबन्धनमध्येका तीन दलका शीर्ष नेताबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

सो छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका थिए । बालुवाटार स्रोतका अनुसार उक्त प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकरात्मक लिएका छन् । उक्त भेटमा तीन नेताबीच स्थानीय तहको निर्वाचनबारे पनि छलफल भएका थियो ।
एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, सत्ता गठबन्धन दलबीच नै एमसीसीबारे मतभेद रहँदै आएको छ । त्यसैले टेबुल हुन सकेको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरुले छलफललाई तिव्रता दिएका छन् ।
प्रधानमन्त्री देउवाले आइतबार ‘एमसीसी पारित नगरे फिर्ता जाने र गठबन्धन टुट्ने’ बताएको भन्दै समाचार आएपछि सोमबार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवा एमसीसी सम्झौता पारित गर्ने पक्षमा रहेका छन् ।












