काठमाडौं । अफगानिस्तानको जनताका लागि राहत सामग्री प्रदान गरेर मात्र होइन, परराष्ट्र मन्त्रालयको समन्वयमा संकलन गरिएको औषधि, लत्ताकपडा र घरायसी सामानहरु काठमाडौंबाट अफगानिस्तानसम्म निःशुल्क कार्गो ढुवानी गरेर हिमालय एयरलाइन्सले नेपाल सरकारलाई ठूलो गुन लगाएको छ ।
अफगानी जनतालाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता जुटाइरहेको बेला नेपाल अध्यक्ष रहेको ‘सार्क’ देशको नाताले समेत सहयोग गर्नु मानवीय धर्म त हुँदै हो, त्यसमाथि राष्ट्रप्रतिको दायित्ववोध गर्दै निःशुल्क ढुवानी गर्नुले हिमालय एयरलाइन्सको प्रतिष्ठा उँचो भएको छ ।

सन् २०१४ मा नेपाल–चीनको संयुक्त लगानीमा स्थापना भएको हिमलायन एयरलाइन्सले सन् २०१६ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । ४ वटा एयरबस जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले अबुधावी, दमाकस, ढाका, दोहा, दुबई, क्वालालम्पुर, म्यानमार, श्रीलंका र रियादमा नियमित उडान गर्दै आएको छ । त्यसैगरी चीनको बेइजिङ, चाङसा, चोङपुकिङ, गोयाङ, सेन्जाहिन सहरमा हिमालय एयरलाइन्सले सेवा दिँदै आएको छ । कोभिड अगाडि हिमालय एयरलाइन्सको सेवा चीनको विभिन्न सहरमा पुगेकै कारण चिनियाँ पर्यटकहरुको आगमन नेपालमा ह्वात्तै बढेको थियो ।
निकट भविष्यमै तिब्बतको ल्हासा उडानको तयारीमा रहेको यस एयरलाइन्सले ल्हासाबाट गुणस्तरीय पर्यटक भित्र्याउने कुरामा आशावादी बन्नैपर्छ ।
सबैभन्दा बढी कार्गो
हिमालय एयरलाइन्सले ४ वटा जहाजमार्फत ६ वटा गन्तव्यमा प्यासेन्जर उडान गरिहेको छ भने चीनको २ वटा गन्तव्यमा कार्गो उडान गर्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार हिमालय एयरलाइन्सले उडान संख्यासँगै यात्रु संख्यामा नेपाल एयरलाइन्सलाई पछाडि पारेको छ ।
डिसेम्बर महिनामा हिमालयले ४०३ वटा उडान तथा अवतरणबाट ३५ हजार ८८९ यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको थियो । त्यस्तै गरी कार्गोमा पनि नेपाल एयरलाइन्सलाई पछाडि पारेको छ । हिमालय एयरलाइन्सले डिसेम्बरमा ५७४ टन सामान बोकेको थियो । यो नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीहरूमा सबै भन्दा बढी हो ।
नेपाल एयरलाइन्स लगातर तीन वर्षदेखि एक नम्बरमा रहँदै आएको छ । अहिले यात्रु बजार हिस्साका आधारमा तेस्रो नम्बरमा छ । नेपाल एयरलाइन्सले डिसेम्बरमा २४९ वटा उडान तथा अवतरणमार्फत ३० हजार ९९६ जना यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ ।
नेपाल एयरलाइन्सले डिसेम्बरमा जम्मा ३४२ टन सामान बोकेको जनाएको छ । जुन हिमालयभन्दा २३२ टन कम हो । नेपालबाट बढी यात्रु बोक्नेमा भने कतार एयरवेज रहेको छ । कतार एयरवेजले सन् २०२१ को डिसेम्बरमा २४८ उडान तथा अवतरणमार्फत ३७ हजार ६२० यात्रुलाई सेवा दिएको थियो ।
यात्रुको स्वास्थ्य सुरक्षा
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । एयरलाइन्सले आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने उक्त जीवनदायी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
अब हिमालय एयरलाइन्सका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुने हिमालय एयरलाइन्सले जानकारी दिएको छ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकेर हृदयगति सुचारु राख्न मद्दत गर्दछ । यात्रुको सुरक्षा, सुविधा र जीवन रक्षालाई हिमालय एयरलाइन्सले सधैँ प्राथमिकतामा राख्दै आएको छ ।
हिमालय एयरलाइन्सलाई आइएसओ
हिमालय एयरलाइन्स छोटो समयमै आइएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल नेपालको पहिलो एयरलाइन्स हो । यसले एयरलाइन्सप्रति यात्रुको विश्वसनीयता बढाएको छ । नेपालको एयरलाइन्समा आइएसओ ९००१ः२०१५ प्राप्त गरेर हिमालय एयरलाइन्सले यात्रुको विश्वसनीयता जितेको छ ।

यस एयरलाइन्सको व्यवस्थापन प्रणाली आइएसओको मापदण्डअनुरुप भएकाले आइएसओ ९००१ः२०१५ प्राप्त गरेको हो । एयरलाइन्सले यात्रु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली स्थापित गरेवापत उक्त प्रमाणीकरण गरिएको हो ।
आइएसओ ९००१ः२०१५ लाई विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठनद्वारा (आईएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रुपमा लिने गरिन्छ । आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (युकेएएस)ले हिमालायलाई प्रदान गरेको हो ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीका सबै तहमा उच्चस्तरको कार्य प्रणाली र गुणस्तर कायम गर्दै आएको छ । यसमा सबैको संयुक्त योगदान र प्रयासबाट आइएसओ प्रमाण पत्र प्राप्त गर्न सफल भएको बताएका छन् ।
व्यावसायिक रुपमा सञ्चालन सुरु गरेको एक वर्षमै हिमालय एयरलाइइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो भने, अगस्त २०२० मा प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ ।












