Logo
Logo

बरु डिंगोले चेत्छ तर, ओलीले चेत्दैनन्


श्यामकृष्ण सिलवाल, नेता, एकीकृत समाजवादी


नेकपा (एमाले)ले केपी शर्मा ओलीलाई देवत्वकरण गर्दै लगेपछि इमान्दार नेता तथा कार्यकर्ताले एमाले पार्टी परित्याग गर्ने लहर नै चलेको छ । कम्युनिस्ट स्कुलिङबाट आएका नेता तथा कार्यकर्ताले देवत्वकरण र दासत्व स्वीकार्न नसक्दा एमालेमा इमान्दार, त्यागी, लामो समयदेखि पार्टीमा योगदान पुर्याएकाहरु हेपिनुपर्ने अवस्था छ । कति नेता तथा कार्यकर्ता हेपिएरै एमालेमा बसेका छन् भने कतिपयले विद्रोह गरिरहेका छन् । एमालेका प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवालले पनि एमाले परित्याग गरेका छन् । श्यामकृष्णजस्ता इमान्दार कार्यकर्ताहरूकै बलमा पूर्वडीआइजी नवराज सिलवालले एमाले प्रवेशलगत्तै प्रतिनिधिसभामा निर्वाचन जितेका थिए । श्यामकृष्ण सिलवालसँग दृष्टिले गरेको संवाद प्रस्तुत छः

लामो समय त्याग गरेका पार्टीका इमान्दार कार्यकर्ताले भटाभट नेकपा (एमाले) छाड्ने क्रम किन चल्यो ?
व्यक्तिगत इच्छा, आकांक्षाभन्दा देश र जनताका लागि समर्पित भएर काम गर्दै आएका कार्यकर्ता नेकपा (एमाले)मा बस्ने वातावरण समाप्त भइसकेको छ । तत्कालीन माले (हालको एमाले)बाटै देशको आमूल परिवर्तन हुन्छ, आफ्नो ठाउँबाट केही योगदान गरौँ भनेर काम गर्दै आयौँ । तर, अहिले एमाले उल्टो बाटोमा हिड्न थाल्यो । जनताले दिएको मतको अपमान गर्दै दुई–दुई पटक संसद विघटन गर्ने, पार्टी र कम्युनिष्ट आन्दोलन जोगाउनभन्दा भत्काउन लाग्ने काम नेतृत्वबाट भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन र एमालेमा भएको विद्रोह केपी ओलीको व्यक्तिवादी अहंकार र पश्चगामी सोचकै उपज हो । दुईतिहाइ बहुमत ओलीका लागि अहंकार बन्यो । पार्टीभित्रको विवाद मिलाउन सकेनन् । आफू नभए अरुलाई पनि प्रधानमन्त्री हुन नदिने, व्यवस्था नै सकिदिने, कुर्सी नै भाँचिदिने ओलीप्रवृत्तिले एमाले ठूलो चक्रव्यूहमा फसेको छ । पार्टी, देश र जनतालाई केन्द्रमा राख्न नसक्नु, आफ्नो बारेमा मात्रै सोच्ने नेतृत्वका कारण सिंगो कम्युनिष्ट आन्दोलनलाई नै धक्का पुगेको छ । सिंगो राष्ट्रले मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रले पनि कम्युनिष्ट सरकारमाथि ठूलो आशा गरेको थियो । त्यो आशा र भरोसामाथि ओलीले कुठाराघात गरे । झलनाथ खनाल अध्यक्ष भएको बेला पार्टीले पारित गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा टेकेर ओलीले भ्रष्टाचारीको पक्षपोषण गरे । ओली सरकारको पालामा भएको भ्रष्टाचारको विषय ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले उजागर गरेको छ । ओलीमा इमान्दारिता पटक्कै देखिएन । इमान्दार नेता तथा कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था बनेको छ । हामीजस्ता कार्यकर्ताले सोच्ने बेला आयो– अन्याय सहेरै चुपचाप बस्ने कि विद्रोह गर्ने ? कम्युनिष्ट स्कुलिङबाट आएको कार्यकर्तालाई चुप बस्न गाह्रो हुन्छ । उपयुक्त विकल्प विद्रोह नै हो । ढिलोचाँडो विद्रोह गर्नैपर्छ ।

नेकपा (एमाले) भन्ने पार्टी अब कम्युनिष्ट रहेन भन्ने निष्कर्ष हो ?
नाम त कम्युनिष्ट छ । तर, कम्युनिष्ट आचरण खोज्नका लागि त्यसको फेरि परिभाषा गर्नुपर्छ जस्तो लाग्छ । आजको युगमा हिजोकै जस्तो कम्युनिष्ट खोज्न त गाह्रो हुन्छ । अहिलेको वास्तविक धरातलमा टेकेर देश र जनतालाई शिरमा राख्दै पार्टीलाई केन्द्रमा राखेर जो अगाडि बढ्छ, त्यो नै सच्चा कम्युनिष्ट हुन सक्छ । हामीलाई त्यस्तो कम्युनिष्ट चाहिन्छ । एमाले त्यस्तो कम्युनिष्ट बाटोबाट च्युत भइसकेको छ । एमालेभित्र दलाल पूँजीपति, बिचौलिया, मेडिकल माफिया र गैरकम्युनिष्ट चरित्रका दलालहरु हाबी छन् ।

पार्टीभित्रै संघर्ष गरेर सच्याउन सम्भव थिएन ?
नेतृत्व नै उल्टो बाटोमा हिडेपछि सानो शक्तिले सही ठाउँमा ल्याउन सम्भव छैन, हुँदैन । ओलीलाई सच्याउन सकिन्छ कि भनेर मैले पनि केही समय प्रयास गरेँ । तर, ओली सच्चिन्छन् भन्ने सोच्नु नै मूर्खता रहेछ । अब एमालेमा कि ओलीको पाउमा पर्नुपर्यो, कि किनारा लाग्नुपर्याे । देश र जनताको लागि केही गर्छु भन्ने हो भने विकल्प खोज्नैपर्ने हुन्छ । अहिले मैले लिएको बाटो भोलि धेरै इमान्दार कमरेडहरूले लिनुको विकल्प छैन ।

ओली किन सच्चिन चाहदैनन् ? कि उनले गल्ती महसुस नै गर्न बाँकी छ ?
ओलीले नबुझेको भन्ने मलाई लाग्दैन । ओली आफ्नै घमण्ड, अहंकार र दम्भले कमजोर बन्दै गएका छन् । ओलीले पार्टीबारे सोचेको भए हिजो नेकपाको ठूलो पंक्तिले उनलाई साथ दिन्थ्यो । आज एमालेको अवस्था पनि यति कमजोर हुने थिएन । नैतिकताको आधारमा हिजो माधवकुमार नेपालले राजीनामा दिएको पार्टी हो एमाले । कम्युनिष्ट आन्दोलन ध्वस्त हुने अवस्था, पार्टी संघदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिनुपर्ने अवस्था, हरेक निर्वाचनमा पराजित हुनुपर्ने अवस्थामा समेत ओलीले नैतिकताको आधारमा राजीनामा दिएर पार्टीलाई बचाउने प्रयास गरेनन् । नदीमा हाम फालिसकेपछि पार लाग्न सक्नुपथ्र्यो । ओली पार लागेनन्, फेरि कोसिस गरे । त्यो पनि पार लागेन । असफल हुन ओली तयार छन् । तर, अरुको लागि बाटो छाड्न उनी तयार छैनन् ।

ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न लागिरहँदा पनि एमालेभित्रका नेता तथा कार्यकर्ता किन बोल्न डराइरहेका छन् ?
कतिले बुझेर बुझ पचाएका छन् । ओली प्रवृत्ति सबैलाई थाहा छ । तर, कतिलाई अवसर आइहाल्छ कि भन्ने लोभले पनि काम गरेको हुन सक्छ । कति साथीहरू आँट गर्न सक्नुहुन्न । एमालेको नाम, झन्डा, निर्वाचन चिह्न जस्ता विषयलाई लिएर कतिपय कार्यकर्ता भावनामा बगेको पनि देखिन्छ । त्यसकारण पनि केहीले निर्णय गर्न सक्नुभएको छैन । तर, राजनीति भावनाले चल्दैन । ढिलोचाँडो वास्तविक धरातलमा उभिनै पर्छ ।

राष्ट्रियसभा निर्वाचन भर्खरै सम्पन्न भयो । यो निर्वाचनको परिणमले भोलिको अवस्था आकलन गर्न सकिन्छ ?
हामीले अंगालेको शासन व्यवस्थामा गणितले धेरै काम गर्छ । जनता कहिल्यै टुक्रिदैनन् । जनता जहिले पनि ३६० डिग्रीभित्रै रहन्छन् । एउटा सरल रेखा हेर्नुस, त्यहाँ पनि ३६० डिग्री नै हुन्छ । दुईटा सरल रेखा बनाएर कोण बनाउनुस्, त्यसको विरुद्धमा पनि अर्को कोण हुन्छ । दुईटा कोण गर्दा पनि ३६० डिग्री नै हुन्छ । चार वटा वा पाँच वटा कोण बनाउँदा पनि ३६० डिग्री नै हुन्छ । ३६० डिग्रीबाट तलमाथि कहिल्यै पनि हुँदैन । जसले यो तथ्य बुझ्दैन उनले मेरो एङ्गल अलि ठूलो छ भनेर सोच्छ । तर, ३६० मा उसको एङगल कति डिग्री छ त ? १८० डिग्रीभन्दा माथिको एङगल छ कि छैन ? त्यो भन्दा सानो भएपछि उ स्वतः कमजोर हुन्छ । ३६० डिग्रीको अवस्थालाई नबुझ्नेहरूले राजनीति गर्न जान्दैनन् भन्छु म त । गणितलाई हामीले नकार्नु हुँदैन ।

एमालेको स्थिति अब के हुन्छ त ?
आगामी दिन एमालेका लागि निकै कठिन छ । कमजोरी तुरुन्तै सच्याउँछुभन्दा पनि एमालेका लागि निकै ढिला भइसकेको छ । एमाले नेतृत्वलाई जनताले लामो समय अवसर दिएकै हुन । तर, नेतृत्वले त्यसलाई दुरुपयोग गर्याे । त्यसको परिणाम एमालेले भोग्न बाँकी नै छ । जनताले दुई तिहाईको हाराहारीमा मत दिँदासमेत असंवैधानिक रुपमा अघि बढेर प्राप्त उपलब्धि नै समाप्त पार्ने दिशामा लागेका कारण एमाले सच्चिन्छ भन्ने जनतालाई विश्वास छैन । एउटा उखान छ– खोलोमा परेपछि डिंगो पनि चेत्छ । मानिस त त्यो पशुभन्दा माथिल्लो प्राणी हो भनिन्छ । तर, मानिसले पशुभन्दा तल्लो सोच पनि राख्दो रहेछ । एक पटक खाल्डोमा परिसकेपछि त्यो बाटो डिंगो त हिड्दैन । तर, मानिस चेत्दैन, फेरि त्यही बाटो हिडेर खाल्डोमा पर्छ । पशुले जति पनि सोच्न नसक्ने मानव भइसकेपछि कसरी पार लाग्छ ? ओलीका कारण यसको परिणाम एमालेले भोग्नुपर्छ ।

पशु भनेर ओलीलाई चित्रण गर्न खोज्नुभएको हो ?
संसद विघटन असंवैधानिक छ भनेर सर्वोच्च अदातलले नै भनिसकेपछि फेरि त्यही बाटो समात्नु के हो ? यदि, ओलीले असंवैधानिक रुपमा संसद विघटन नगरेको भए उनको अवस्था आज यस्तो हुने थिएन । खाल्डो छ भन्ने जान्दाजान्दै ओलीले कसलाई खुसी पार्न यी सारा चीज गरिरहेका छन् । पटक–पटक खाल्डोमा पर्दा पनि ओलीको कस्तो चेत नखुलेको ।

तर, एमाले त हाम्रो संगठन बलियो छ भन्दैछ नि ?
मैले अघि पनि ज्यामितीको कुरा गरेँ । त्यो त क्षणिक हो । दीर्घकालीन रुपमा एमालेलाई गाह्रो हुन्छ । अहिलेको अवस्थाबाट एमालेलाई बलियो बनाउँछु भन्ने नसोच्दा पनि हुन्छ ।

केपी ओलीलाई विदेशीले खेलाए पनि भन्छन नि ?
विदेशीले खेलाएर मात्र होइन, ओलीको शैली नै त्यस्तै छ । घमण्ड, दम्भले भूमिका खेलेको छ । पृथ्वीनारायण शाह, जंगबहादुर पनि एक्लै थिएनन् । कोतपर्वमा पनि धेरै भाइले जंगबहादुरलाई साथ दिएका थिए । केपी ओलीले पनि सबैको साथ र सहयोमा काम गरेको भए धेरै रामो हुन्थ्यो । उनी आफ्नै कारणले सिद्धिए । सिंगो कम्युनिष्ट आन्दोलन सिध्याउने षड्यन्त्रमा छन् ।

लामो समय गुट चलाएर आएकाले ओलीले ठूलो पार्टी सम्हाल्न सकेनन् पनि भन्छन नि ?
त्यो पनि एउटा कारण होला । लामो समय गुुट चलाएर आएका ओलीले मिलाउने प्रयास गर्नुपथ्र्यो । नेतृत्वमा बसेको मान्छेको सबैभन्दा ठूलो गुण मिलाएर लैजान सक्नु हो । जननेता मदन भण्डारी, मनमोहन अधिकारी, झलनाथ खनाल र माधव नेपालमा अरुको कुरा सुन्ने, पिरमर्का बुझ्ने गुण थियो र त पार्टी बलियो बन्यो । तर, ओलीमा त्यो गुण भएन र पार्टी ध्वस्त बन्यो ।

पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धन तीनै तहको चुनावसँगै जाला ?
अवश्य जान्छ । आन्दोलनको उपलब्धि संस्थागत गर्ने सवालमा नेपालका वाम–लोकतान्त्रिक शक्ति मिलेरै जानुपर्छ । संविधान जारी गर्ने, चुच्चे नक्सा पास पनि मिलेरै सम्भव भएको हो । अहिले नेपालको विकास एक्लै गर्न सम्भव छैन । कोही एक्लै हिड्न खोज्छ भने उसले केही पनि गर्न सक्दैन । कसैले एक्लै पार लगाउँछु भन्ने सोच्छ भने उसले देशको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र भूबनोट बुझ्न अझै बाँकी रहेछ भनेर बुझ्नुपर्छ ।

तपाईंको निष्कर्ष अब एमालेबाट पार लाग्दैन भन्ने नै हो ?
धेरै मानिस बोकेको ठूलो प्लेनको पाइलटले प्लेन उडाउन जानेन् भने प्लेनमा भएका यात्रु मात्र होइन, सिंगो बस्तीमा भएका मानिसको पनि ज्यान जान सक्छ । समुन्द्र वा जंगलमा खस्यो भने त त्यति धेरै क्षति नहोला तर, बस्तीमा खस्यो भने के हुन्छ ? हामी सबैले अनुमान लगाउन सक्छौँ । त्यसैले प्लेन चढ्ने वा बस्तीमा भएकाले पनि पाइलट कस्तो छ भन्ने कुरामा हेक्का राख्नुपर्छ । गठबन्धनले पनि यहाँमा ख्याल राख्नुपर्छ । कतै एमालेको प्लेन बस्तीमा खस्ने त होइन ? बस्तीमा खस्न नदिन, दुर्घटनामा जनधनको क्षति हुन नदिन सतर्कता अपनाउनुपर्छ । आफू हिँडेको बाटो फराकिलो बनाउँदै जानुपर्छ । एकीकृत समाजवादीले एमालेबाट आउने नेता तथा कार्यकर्ताका लागि ठाउँ खुला राख्नुपर्छ । एमाले बिग्रिए पनि धेरै नेता तथा कार्यकर्ता बिग्रिने पक्षमा छैनन् । उनीहरूका लागि ढोका खुला राख्नुपर्छ । लेनिनवादी संगठनात्मक ढाँचामा पनि केही परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ ।

लेनिनवादी संगठनात्मक ढाँचा परिवर्तन गरेर कस्तो संगठन बनाउने त ?
उर्जावान नेता तथा कार्यकर्तालाई निराश बनाउने वातावरण पार्टीले निर्माण गर्नु हुँदैन । हरेक नेता तथा कार्यकर्तालाई पार्टीले कामको जिम्मा दिनुपर्छ । प्रत्येक सदस्यले नियमित बहस छलफल गर्ने अवस्था पार्टीभित्र बन्नुपर्छ ।

कम्युनिष्ट फुटेर कांग्रेससँग मिल्नु कतिको स्वाभाविक हो ?
गठबन्धन अहिलेको आवश्यकता हो । प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धनको अगुवाइ गर्ने शक्ति नेकपा (एकीकृत समाजवादी) नै हो । नेपाली कांग्रेसले वा नेकपा माओवादी केन्द्रले चाहेर मात्र यो गठबन्धन बनेको होइन । गठबन्धनमा आउन कांग्रेस र माओवादीलाई कुर्नै गाह्रो थिएन । एकीकृत समाजवादीले निकै अप्ठेरो बाटोमा होमिएर देशलाई निकास दिन यो गठबन्धन निर्माणको आधार बनाएको हो ।

नेकपा (एकीकृत समाजवादी) नै अगुवा पार्टी हो भन्ने लाग्छ ?
जनताको पक्षमा काम गर्ने कार्यकर्ताका लागि नेकपा (एकीकृत समाजवादी) राम्रो विकल्प हो । यसले देश र जनताको लागि केही गर्छ भन्ने विश्वास छ । भरोसा गर्ने ठाउँ छ । को–अर्डिनेशन केन्द्र, माले, एमाले हुँदै एकीकृत समाजवादीको संगठन निर्माणमा लागेको नेतृत्व पंक्ति छ । देश र जनताको लागि केही गर्न नयाँ ढंगले सोच्नुपर्छ भन्ने भावना भएका कार्यकर्ता यहाँ छन् । एकीकृत समाजवादीले लिएको बाटो अहिलेको देशको आवश्यकता हो । एकीकृत समाजवादीको सोचमा देश आज अगाडि बढिरहेको छ । गठबन्धन विना नेपालमा अहिले केही पनि सम्भव छैन । अन्य देशमा पनि गठबन्धन भएको देखिन्छ । हिजो एमाले र माओवादीको गठबन्धन हुँदा के परिणाम आयो ? आज एक्लै हुँदा एमालेको अवस्था के छ भन्नेबाट पनि धेरै कुरा बुझ्न सकिन्छ ।

नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई एमालेमा ल्याउन भूमिका खेल्नुभयो । संघीय सांसदमा जिताउनु पनि भयो । तर, अहिले आफै एमाले छाडेर हिड्नुपर्ने अवस्था आयो होइन ?
मेरो तर्फबाट भूमिका खेलेकै हुँ । ललितपुरमा एमाले आन्दोलन कमजोर भएको बेला नवराज सिलवाल जस्तो चर्चित पात्र हुँदा सजिलो हुन्छ भन्ने ढंगले सोचिएको हो । तत्कालीन सरकारले अन्याय गरेपछि संसदमै भेट्ने गरी अगाडि बढ्नुपर्छ भनेर मैले नवराजलाई सुझाएको थिए । अहिले नवराजसँग मेरो कुरा भएको छैन ।

नवराज सिलवालले अब पनि निर्वाचन जित्ने अवस्था छ त ?
मैले केही समय अघि केपी शर्मा ओलीलाई भेटेर जिल्लाको वस्तुस्थितिबारे जानकारी गराएको थिएँ । यही पाराले हामीले ललितपुरमा सबै चुनाव हार्छौँ भनेर स्पष्ट रुपमा भनेको थिएँ । हिजो गठबन्धन हुँदा जितेको जस्तो सजिलो छैन, अबको चुनावमा ललितपुरका ६ वटै पालिका, ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र र तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हार्ने अंकगणित मैले बताएको थिए । ओलीबाट नवराज सिलवाललाई टिकट दिँदा जित्नुहोला नि भन्ने जवाफ आयो । मैले ‘उहाँलाई पनि गाह्रो छ’ भनेँ । मैले जे देखेँ, त्यही भने । अहिले त्यो भन्दा पनि एमालेको अवस्थामा बिग्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्