Logo
Logo

नेपाल-भारत रेल्वे सम्झौताबारे तेस्रो बैठक नयाँदिल्लीमा सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ । नेपाल–भारत रेल्वे सम्झौताको विस्तृत पूनरावलोकनका लागि बिहीबार बैठक नयाँदिल्लीमा सुरु भएको छ । नेपाल–भारत रेल्वेबारे यो तेश्रो बैठक हो । यसअघि सन् २००९ र २०१२ मा बैठक बसेको थियो ।
बिहीबार दिल्लीको केन्द्रीय सचिवालय, रायसीना रोडस्थित भारतीय रेल मन्त्रालयमा सुरु भएको द्विपक्षीय बैठकमा मुख्य रुपमा नेपाल र भारतबीच रेल कनेक्टिभिटिको समग्र विषयमा समीक्षा हुने बताइएको छ ।
विशेषगरी बल्क कार्गोको आप्रवाहलाई सहज, सरल, द्रूत र मितव्ययी बनाउने विषयमा छलफल हुँदैछ । निर्माण सम्पन्न जनकपुर–जयनगर खण्डको लागि भारत सरकारले नेपाललाई अनुदान सहयोगवापत दिएको बुग्गी हस्तान्तरणदेखि, कार्गो आप्रवाह सेवालगायत थप लाइन विस्तारसम्मका समग्र विषयमा यो बैठकमा समीक्षा हुने भएको एक अधिकारीले बताए ।
यसका अतिरिक्त विशाखापटनम बन्दरगाहलाई प्रयोग गरेर हुने बल्क कार्गो आप्रवाह सहज गराउने विषयमा पनि कुरा राख्ने नेपाली पक्षले जनाएको छ ।

बैठकमा नेपालका तर्फबाट उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको टोली रहेको छ भने भारतका तर्फबाट भारतीय रेल्वे बोर्डका कार्यकारी निर्देशक मनोजकुमार नेतृत्वको टोली सहभागी छ । बैठक दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्