Logo
Logo

कोपा अमेरिकाबाट नेमार बाहिरिए


- दृष्टि न्युज/संवाददाता


ब्रासिलिया, २३ जेठ (एएफपी) । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो ।
ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ ।
एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महँगा खेलाडीमध्येका एक हुन् ।
बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् ।
नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्