Logo
Logo

क्यानमा फुत्त बढुवा


945
Shares

काठमाडौं । देशमा ओली राजको असामयिक अन्त्य भए पनि ओली प्रवृत्तिले जताततै गाँजेको छ । त्यसको पछिल्लो उदाहरण हुन् प्रदीप अधिकारी । उनी नागरिक उड्डयन प्राधिकरणका ११ औँ तहका कर्मचारी हुन् । प्राधिकरणअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना हेर्दै आएका तिनै अधिकारी फुत्त महानिर्देशकमा नियुक्त हुँदा उनीभन्दा सिनियर १२औँ तहका कर्मचारी चकित परेका छन् ।

सामान्यतया प्राधिकरणको महानिर्देशकमा १२औँ तहका कर्मचारीलाई बढुवा गर्ने परम्परा छ । प्राधिकरणमा उनीभन्दा सिनियर १२औँ तहका ५ जना निर्देशकहरु छन् । ती ५ जनालाई पछाडि पार्दै अधिकारी महानिर्देशक नियुक्त भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको नियतमाथि शंका उठेको छ ।

राष्ट्रिय गौरवका आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हेर्दै आएका अधिकारीमाथि ‘अकूत’ कमाएको आरोप छ । राष्ट्रिय गौरवका आयोजनाबाट ‘अकूत’ कमाएको कारणले नै उनी महानिर्देशक बन्न सफल भएको क्यानका कर्मचारी बताउँछन् । नभए १२औँ तहका प्रतावबाबु तिवारी, भोलाप्रसाद गुरागाईँ, देवेन्द्रलाल कर्ण, प्रेमनाथ ठाकुर र हंशराज पाण्डेलाई छाडेर अधिकारीलाई महानिर्देशक बनाउनुपर्ने बाध्यता मन्त्री आलेलाई थिएन ।

यस नियुक्तिले नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुमा निराशा छाएको छ । सरकारले इमान्दार र क्षमतावान कर्मचारीको उचित मूल्यांकन नगरेको गुनासो छ । त्यसमाथि तीन महिनाका लागि महानिर्देशक बनेका राजकुमार क्षेत्रीले आफ्नो चार वर्षे कार्यकाल काम गर्न पाउनुपर्ने अडानका साथ सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

सर्वोच्च अदालतमा क्षेत्रीको मुद्दा विचाराधीन छ । फागुन ९ गते क्षेत्रीलाई हटाउनुको कारण माग गर्दै दुवै पक्षलाई बोलाएको छ । प्राधिकरणको ऐनमा महानिर्देशकको पदावधि चार वर्षको तोकेकोले उमेर हदका कारण महानिर्देशकलाई हटाउन नमिल्ने दाबी क्षेत्रीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्