Logo
Logo

प्रचण्डको फोनमा ओलीको ‘म्यासेज’


168k
Shares

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन परिणामपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मोबाइलमा एउटा ‘म्यासेज’ आयो । ‘म्यासेज’ हेरेर प्रचण्ड आश्चर्यचकित भए । ‘म्यासेज’मा लेखिएको थियो– ‘एकपटक भेटौंन, जरुरी सल्लाह छ ।’ ‘म्यासेज’को यो शब्दले प्रचण्डको मथिंगल खल्बलियो । के सल्लाह गर्न यो ‘म्यासेज’ पठाएको होला ? फेरि के षड्यन्त्र गर्न मसँग भेट्न खोजेको होला ? आदि कुरा प्रचण्डको मनमा खेल्न थाल्यो । तर, आजसम्म प्रचण्डले उक्त ‘म्यासेज’को जवाफ फर्काएका छैनन् ।

अस्ति आइतबार अचानक त्यो ‘म्यासेज’ पठाउने व्यक्तिसँग प्रचण्डको बालुवाटारमा भेट भयो । एमसिसी सम्झौतासम्बन्धी छलफल गर्न र संसद्मा प्रमुख प्रतिपक्षको अवरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बोलाएका थिए । तर, ओलीले आफू आउने एउटा शर्त राखे–माधवजी आउने भए म आउँदिन । यो सूचना माधव नेपालकहाँ पुग्यो । माधव नेपालले सहज उत्तर दिए– त्यसो भए म आउँदिन । तपाईंहरुले एउटा निकास निकाल्नुस् ।

त्यसपछि प्रचण्डलाई त्यो ‘म्यासेज’ पठाउने ओलीले संसद् सुचारु गर्ने भए सभामुखलाई हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई बर्खास्त गर्ने शर्त राखे । माधव नेपाल बैठकमा आए म आउँदिन भन्ने ओलीको भनाइ र सभामुख हटाए संसद्को अवरोध खोल्ने भनाइले दुईवटा कुरा बुझ्न सकिन्छ । पहिलो कुरा सभामुख हटाएको खण्डमा एमसिसी जस्ताको तस्तै पास गर्न एमाले तयार छ । अर्को कुरा प्रचण्डलाई फकाउन सकियो भने यो सत्ता गठबन्धन भत्काउन सकिन्छ । त्यसपछि माधव नेपाल आफैँ सिद्धिन्छन् ।

स्थानीय तहको निर्वाचन घोषणाको तयारी भइरहेको बेला कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा तिनै चरणको निर्वाचनमा गठबन्धन गरेर गए भने एमाले सिद्धिन्छ भन्ने निष्कर्ष ओलीले निकालेका छन् । त्यसैले यो गठबन्धन भत्काउन उनले चुनावी सरकारको नेतृत्व प्रचण्डलाई दिएर पुनः वाम गठबन्धनको भित्री तयारी गरेको अनुमान छ । तर, दुई–दुईपटक ओलीबाट धोका खाएका प्रचण्डले ओलीले भनेको कुरा सजिलै मान्लान् जस्तो त देखिँदैन । राजनीति भनेको सम्भावनाको खेल हो हेर्दै जाऊँ ।

प्रतिक्रिया दिनुहोस्