Logo
Logo

सेनाको बुटमा करोडौँ लुट



काठमाडौं । नेपाली सेनाको बुट खरिदमा करिब चार करोड हिनामिना भएको भेटिएको स्रोतले बताएको छ । टेण्डरमा नवौं नम्बरमा परेको र धेरै रकम कबोल गर्ने कम्पनीलाई सेटिङका आधारमा बुट खरिदको जिम्मा दिइएको छ ।

५२ हजार जोर छालाको कालो जुत्ता खरिदमा अनियमितता भएको हो । महंगो रकम कबोल गर्ने ललितपुरको कर्माचार्य बिजनेश ट्रेडर्सलाई ९ करोड ७३ लाख ९६ हजार भारुमा यसको ठेक्का दिइएको छ । जबकि, अन्य आठ वटा कम्पनीले यो भन्दा सस्तो दररेटमा जुत्ता दिने प्रस्ताव गरेका थिए ।

रोमी सप्लायर्सले सबैभन्दा कम एक हजार दुई सय ८९ रुपैयाँ प्रतिजोरका दरले भारतीय कम्पनी एक्सोफुट वेयरका जुत्ता आपूर्ति गर्ने प्रस्ताव गरेको थियो । तर, प्रतिजोर एक हजार सात सय १३ भारु प्रस्ताव गर्ने कर्माचार्य बिजनेशलाई सो ठेक्का दिइएको छ । जसअनुसार जुत्ता खरिदमा करिब साढे चार करोड रुपैयाँ तलमाथि हुने देखिन्छ । गुणस्तरका नाममा यसरी बुट खरिदमा ठूलो भ्रष्टाचार भएको स्रोतले बताएको छ ।

सेनाले ल्याबमा गुणस्तरसमेत चेक गर्दैन । सेनाकै टिमले आन्तरिक रुपमा कुन गुणस्तीय भएको र कुन कमजोर गुणस्तरको भनेर लगाएर जाँच्ने गर्दछन् । जसकारण बुट खरिदमा हरेक वर्ष ठूलो चलखेल हुँदै आएको छ । यस विषयमा प्रधानसेनापति प्रभुराम शर्मालाई केही थाहासम्म नदिइएको स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्न नपाउने भएकाले यसरी मनोमानी रुपमा सेनाले ठेक्का गर्दै आएको छ । यस्तो भ्रष्टाचार संगठित हुने गरेको एक सैनिक अधिकारी बताउँछन् ।

विगतमा सेनाले यस्तो खरिदको बोधार्थ रक्षा मन्त्रालयलाई दिने गरेको थियो । तर, हाल मन्त्रालयलाई समेत बोधार्थ दिन छाडेको छ । जसकारण मन्त्रालयबाट अनुगमनसमेत हुने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्