Logo
Logo

एआइजीभन्दा डिआइजी बढुवा पेचिलो



काठमाडौं । नेपाल प्रहरीमा एआइजी बढुवाको अन्तिम तयारी भइरहँदा डिआइजी बढुवामा अझै धेरै प्रतिस्पर्धी हुने देखिएको छ । थोरै सिट तर बढुवाका बलिया प्रतिस्पर्धी धेरै हुँदा डिआइजी बढुवा पेचिलो बनेको हो । आकांक्षीका दौडधुपले एआइजीमा जस्तै डिआइजीमा पनि दरबन्दी थप हुने सम्भावना देखिएको छ ।

एआइजीका तीन दरबन्दी मात्र थप हुँदा डिआजीमा पनि त्यति नै पद खाली हुन्छन् । जसमा २० जना बढुवाका दाबेदार छन् । ज्येष्ठताका आधारमा बढुवा हुने हो भने त्यसमा चार सिनियर एसएसपी प्रतिस्पर्धामा हुनेछन् । तर, एक सय आठ र एक सय १० टोलीका एसएसपीहरू शक्तिशाली भएकाले उनीहरू नै बढुवामा पर्ने सम्भावना छ । सिनियर ब्याचबाट मसाउद आलम खाँ, मोहन आचार्य, प्रदीपकुमार श्रेष्ठ र नलप्रसाद उपाध्याय बढुवाको प्रतिस्पर्धामा छन् ।

नयाँ ब्याचबाट १४ जना एसएसपीमध्ये सबै जना शक्तिशाली छन् । जसमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर तथा भिमप्रसाद ढकाल प्रतिस्पर्धामा छन् ।

उनीहरुमध्ये सन्दीप भण्डारी पहिलो नम्बरमा भएकाले उनलाई केही सहज अवस्था छ । दोस्रो नम्बरमा रहेका टेकप्रसाद राईको राजनीतिक सम्पर्क राम्रो छैन । उमेशराज जोशीलाई प्रधानमन्त्री तथा सुदुरपश्चिमको टिमले सहयोग गर्ने सम्भावना देखिन्छ भने श्यामलाल ज्ञवाली एसपी हुँदा पहिलो नम्बरमा भएकाले उनी पनि बलिया प्रतिस्पर्धी मानिन्छन् ।

यसअघि बढुवामा फड्को मारेका दीपक थापाको राजनीतिक सम्पर्क राम्रो छ । सो ब्याचका अन्य एसएसपीहरू पनि शक्तिशाली मानिन्छन् । त्यसकारण बढुवामा चर्काे प्रतिस्पर्धा हुने अवस्था देखिएको हो । अहिले ब्याचबाट जो पहिलो नम्बरमा बढुवा हुन्छ पछि त्यही व्यक्ति आइजिपीको सशक्त दाबेदार हुने भएकाले बढुवामा चलखेल हुने सम्भावनासमेत देखिएको छ । त्यस्तै, एसएसपी बढुवामा यसअघि पछि परेका अशोक सिंह पनि अहिले आफु अनुकुल माहोल रहेको भन्दै जम्प हान्ने तयारीमा छन् । चुनावी सरकारले बढुवा गर्ने भएकाले बढुवामा आर्थिक चलखेल हुने आशंकासमेत गरिएको छ । यस्तो अवस्थामा इमान्दार अधिकृतहरू पछि पर्ने अवस्था आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्