Logo
Logo

कलाकारलाई चुनावी चटारो : अध्यक्षमा लामिछाने र खड्काको दावी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ जेठ । चलचित्र कलाकारलाई अहिले चुनावी माहालले छोएको छ । यो शनिबार अर्थात २५ जेठमा चलचित्र कलाकार संघको निर्वाचन हुँदैछ ।
यसपटक कसलाई संघको अध्यक्ष बनाउने भन्नेमा कलाकार गुटबन्दी नै देखिएको छ । यसअघिका अध्यक्षहरुले कलाकारको हकहितका लागि खाशै का नगरेपछि कलाकारलाई नेतृत्व चुन्नलाई समेत अप्ठ्यारो परेको छ । चुनावका बेला विभिन्न आर्कषक नारा दिने अनि पदमा पुगेपछि आफ्नो स्वार्थमा मात्र काम गर्ने प्रवृति कलाकार संघमा मात्र नभएर हरेक संघसंस्थामा पाइन्छ ।
यसपटक कलाकार संघको अध्यक्षमा चर्चित टेलिअभिनेत्री सरिता लामिछाने र अर्का कलाकार रबिन्द्र खड्का अध्यक्षका लागि भिड्दै छन् । चुनाव जित्नका लागि दुवै जनाले विभिन्न प्रोपागाण्डा गर्दै आएका छन् ।
केही समयअघि नै अध्यक्ष पदमा उम्मेदरवारी घोषणा गरेकी लामिछानेले आफूलाई धम्की आएको समेत बताउँदै आएकी छन् । तैपनि उनले आफूलाई जिताउन आफ्ना नजिकका कलाकारसँग लबिङ गर्दै आएकी छन् । केही दिनअघि पत्रकार सम्मेलन गरेर धम्की आएकी लामिछानेले बताएकी थिइन् । तर, किन र केका लागि उनलाई धम्की दिइयो भन्ने स्पष्ट पारेकी छैनन् । पत्रकार सम्मेलनमा सरिताले आफू असुरक्षित महशुश गर्न थालेको बताएकी थिइन् । उनले संघमा अध्यक्ष आफू नै हुनुपर्ने दावी गर्दै आएकी छन् ।
२० बर्षभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएकी उनलाई गैह्रकलाकारको समेत आरोप लगाइएको छ । लामिछाने संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि धेरै किसिमका धाकधम्की र बेइजती सहिरहनु परेको बताएकी छन् । उनले आफूलाई गैह्रकलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन्–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’
उनले चुनावमा हार वा जीत हुने भन्दै आफ्नो प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउने बताइन् । यस्तै, आफ्नो एजेन्डा सार्वजनिक गर्दै सरिताले चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने बताइन् । उनले भनिन्, ‘मलाई भोलीका दिनमा काम नै गर्न दिइएन भने म पत्रकारहरुको अगाडि नै आएर माफी माग्ने छु । तर, मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’
यता अभिनेतासमेत रहेका खड्काले भने पछिल्लो समयमा आएर अध्यक्षका लागि उम्मदवारी दिएका हुन् । संघमा एक कार्यकाल अध्यक्ष रही सकेका खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि आफूलाई जिताउन आफ्ना मातहतका कलाकारलाई अनुरोध गर्दै गरेका छन् । उनले आफू नै संघको अध्यक्ष हुने दावी गरेका छन् ।
खड्काले अघिल्लो कार्यकालका अध्यक्षहरुकै जस्तो आर्कषक नारा लिएर उम्मेदवारी दिएका छन् । उनले चलचित्रकर्मीहरुको भबिस्य सुनिश्चित गर्न, कलाको माध्यमबाट राष्ट्रमा योगदान दिने वरिष्ठ कलाकर्मीहरुको लागि बाँकी जीवनका लागि उच्च सम्मानसहित ब्यवस्थापन गर्ने पूर्वअध्यक्ष स्वm रामकेशर बोगटीलगायत चलचित्र संघको सपना संघको आफ्नै भवन निर्माणका लागि यथाशिघ्र अगाडि बढ्नेलगायत थुप्रै कार्य गर्ने प्रण गर्दै उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्