Logo
Logo

यातायातमा प्राविधिक नहुँदा काम ठप्प


- दृष्टि न्युज/संवाददाता


बलेवा, २४ जेठ । गलकोट नगरपालिका–१ का वीरबहादुर कार्की सदरमुकाम बागलुङ बजारमा रहेको यातायात व्यवस्था कार्यालय धाउन थालेको दुई हप्ता भयो । सवारीचालक अनुमतिपत्रका लागि लिखित परीक्षा दिएर प्रयोगात्मकका लागि उनी यातायात व्यवस्था कार्यालय बागलुङ धाउने गरको छन् ।
सवारीचालक अनुमतिपत्र मात्रै होइन, उनले भर्खरै खरीद गरेको मोटरसाइकल पनि दर्ता गराउनुपर्नेछ । दुई हप्तासम्म कार्यालयमा धाइरहेका कार्कीका दुवै काम भएका छैनन् ।
यातायात व्यवस्था कार्यालयमा रहेका प्राविधिक वसन्त श्रेष्ठ सरुवा भएर हिँडेपछि सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा, सवारी जाँचपास, नामसारी र सवारी दर्तालगायतका सबै काम रोकिएका छन् ।
श्रेष्ठको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएपछि उनको ठाउँमा यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा कार्यरत महेश थापा सरुवा भएका छन्। अहिले काम गरिरहेको कार्यालयले रमाना नदिएका कारण उनी बागलुङ आउन नपाएको यातायात व्यवस्था कार्यालय धवलागिरिका सूचना अधिकारी देवबहादुर थापा सारुले बताए ।
प्राविधिक नभएका कारण वीरबहादुरजस्तै दैनिक कार्यालयमा आउने २०० भन्दा धेरै सेवाग्राही मर्कामा परेका छन् । “म कार्यालय धाएको दुई साता भयो, काम भएको छैन’, कार्कीले भने, ‘मजस्ता सयौँ दिनदिनै फर्केको देखेको छु ।’ बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी चार जिल्लाका काम हुने कार्यालयमा सेवाग्राहीको दैनिक चाप हुने गरेको छ ।
सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन भरेर लिखित परीक्षा दिएका झण्डै ६०० ले प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् । लगातार तीन हप्तासम्म प्रयोगात्मक परीक्षा नभएका कारण आफूहरु मर्कामा परेको काठेखोला गाउँपालिका–७ रेशका मीनकुमार गुरुङले बताए । ‘यहाँको काम पोखरामा पनि हुन्छन्, जानु भनेर सुझाउँछन्’, गुरुङले भने, ‘हजारमा हुने कामका लागि दुई हजार खर्चेर कसरी पोखरा जानु ?’
‘प्राविधिक काम हामीलाई आउँदैन, सोही क्षेत्रमा काम गरेको कर्मचारी आवश्यक पर्छ’, सूचना अधिकारी सारुले भने, ‘प्रविधिक साथी नआउने बेलासम्म सम्बन्धित सबै काम रोकिन्छन् ।’ सरुवा भएका श्रेष्ठलाई अर्काे कर्मचारी नआउने बेलासम्मका लागि काम गर्न आग्रह गरेको भए पनि उनी हिँडेको सारुले बताए ।
‘दुई महीनासम्म रमाना रोकेर हामीले उहाँलाई रोकेका थियौँ’, उनले भने, ‘अब रोक्न मिल्ने ठाउँ नरहेकाले आग्रह मात्रै ग¥यौँ, उहाँ सरुवा भएकै ठाउँमा जानुभयो ।’ निजामती कर्मचारीले एक कार्यालयदेखि अर्को कर्याालयमा सरुवा भएर जाँदा सात दिन तयारी समय र थप बाटोमा लाग्ने समय लिन पाउने कानूनी व्यवस्था छ ।
भौगोलिक हिसाबले निकै टाढाबाट आउनुपर्ने भएकाले उनले कानूनी व्यवस्थाअनुसारको बाटो म्याद लिए भने सर्वसाधारणका काम अझै लामो समय रोकिनेछन् ।
बागलुङमा रहेको कार्यालयबाट साविकको धवलागिरि अञ्चलका चार जिल्लाका काम हुने गरेका छन् । मोटरसाइकल, स्कुटर, मोपेडलगायतका दुईपांग्रे सवारीको मात्रै अनुमतिपत्र वितरणको काम चलिरहेको छ । आर्थिक वर्ष सकिने समय भएकाले काम लिएर कार्यालय आउनेहरुको चाप बढेको कर्मचारी बताउँछन् । प्रविधिक कर्मचारी नभएर रोकिएका काम सञ्चित हुँदा असार लागेपछि काम गर्न थप असहज हुने उनीहरुको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्