Logo
Logo

बिहेमा नाच्ने विषयमा कुटाकुट, दुईजना घाइते



विराटनगर । मोरङको जहदा गाउँपालिका–२ हरिनगरा टोलस्थित एउटा बिहे घरमा नाच्ने विषयमा विवाद हुँदा कुटाकुट भएको छ । शुक्रबार बिहान विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष र घरगाउँले बीच विवाद हुँदा कुटाकुट भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार सो घटनामा परी एक बालकसहित दुईजना घाइते भएका छन् । घाइते हुनेमा जहदा–२ का ३५ वर्षीय भविष गिरी र १५ वर्षीय अवदेश राजभर रहेका छन् । दुवैजना घाइते छिमेकी हुन् । जन्ती आएका युवाको आक्रमणबाट उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये भविषलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको छ । उनको ढाडमा गहिरो चोट लागेको छ । अवदेश सामान्य उपचारपछि घर फर्किएको डीएसपी बस्नेतले बताए । दुवैजनामाथि हतियार प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनामा संलग्न रहेको आरोपमा जहदा–५ का २१ वर्षीय कृष्ण सिंहलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

सिंह जहदा–५ बाट बिहे घरमा जन्ती गएका थिए । बिहेमा नाच्ने विषयलाई लिएर विवाद हुँदा कुटाकुट भएको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्