Logo
Logo

कांग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज शनिबार समापन हुँदैछ ।
पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख संकलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव संकलन गरेको छ ।
सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी (गणेश प्रवृत्ति) भन्दा परिश्रमी (कुमार प्रवृत्ति) लाई महत्व दिन र सोहीअनुसार मूल्यांकन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको थियो ।
अभियानका क्रममा भोजपुरमा खटिनुभएका नेता रामहरि खतिवडाले गाउँमा कांग्रेस आउँदैन भन्ने गुनासोलाई सम्बोधन गरेर टोलस्तरसम्म विभिन्न कार्यक्रम गरेको बताए ।

केन्द्रका नेतालाई मिल्न आग्रह
कार्यक्रममा गत निर्वाचनमा जितेका र हारेका पार्टीका उम्मेदवारसँगै भएर सौहार्द वातावरणमा कार्यक्रम गरेको जानकारी गराउँदै उनले भने, ‘स्थानीय नेता कार्यकर्ताले पार्टीमा एकता कायम गर्न र गुटउपगुट अन्त्य गर्न सुझाव दिएका छन् । कार्यकर्ताले केन्द्रका नेतालाई मिल्न र परिक्रमीको नभई परिश्रमिकका कुरा सुन्न आग्रह गरका छन् ।’
कांग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने र कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धिको सम्प्रेषण गर्ने अभियानको मुख्य उद्देश्य रहेको थियो ।
सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ सालभरि तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भई आज समापन हुँदैछ ।
दोस्रो चरण आगामी भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुने गरी तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बाँकेमा खटिनुभएका नेता एनपी साउदले अभियानमा पार्टीका सबै एकाइ र भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन भएको, पार्टीमा एकताको सन्देश गएको र नयाँ सन्दर्भमा पार्टी एक भएर जानुपर्छ भन्ने स्थानीय नेता कार्यकर्ताको बुझाई रहेको बताए । ‘सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनता निराश भएको पायौँ, जनचासोका विषयलाई कांग्रेसले उठाउनुपर्छ, केन्द्रमा नेताहरु मिल्नुपर्छ, जागरण अभियानजस्ता कार्यक्रम पार्टीले निरन्तर गर्नुपर्छ भन्ने स्थानीय तहमा माग छ ।’

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ
कांग्रेसले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, बढ्दो महँगी, असुरक्षा, भ्रष्टाचारलगायत विषयका विरुद्ध पार्टीले कार्यक्रम बनाई जनतामा जानुपर्ने सुझाव आएको उनले जानकारी दिए । साथै गुटउपगुटका आधारमा नभई पार्टी संस्थागत र पद्धतिका आधारमा चल्नुपर्ने कांग्रेसजनको सुझाव छ ।
लमजुङमा खटिनुभएकी नेत्री कमला पन्तका अनुसार अभियानले पार्टीका सबै निकाय परिचालन भएको र पार्टीमा एकताको राम्रो सन्देश गएको छ । सयौँ नेता कार्यकर्ता र जनतासँग प्रत्यक्ष अन्तक्र्रिया भएको बताउँदै उहाँले अभियानका बारेमा केहीले ठीक र आवश्यक थियो भने पनि केहीले भने पहिला केन्द्रमा नै जागरण गर्नुस् भनेर आक्रोश पोखेको उल्लेख गरे ।
नेतृत्वले सबैलाई समान व्यवहार गर्नुपर्ने, इमान्दार कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने सुझाव दिएको नेत्री पन्तको भनाइ थियो । अभियानका क्रममा नेता कार्यकर्ताले पार्टीका भ्रातृ, शुभेच्छुक संस्था र पार्टीका विभाग तन्दुरुस्त बनाउन सुझाव दिएका छन् ।
अभियानका क्रममा जुम्लामा एक महीनासम्म रहनुभएकी नेत्री रमा पौडेलले अभियानले कार्यकर्तामा उत्साह जागेको सुनाए । वडास्तरसम्म भेला, प्रशिक्षणका साथै पार्टीका विभिन्न एकाइका बैठक पनि भएको बताउँदै उनले स्थानीय नेताकर्तामा केन्द्रमा नेताहरु एक ढिक्का हुनुपर्छ भन्ने सुझाव दिएको जानकारी दिनुभयो ।

रिक्त संरचनालाई यथाशीघ्र पूर्णता दिनुपर्छ
रसुवामा खटिनुभएका नेता जीवन परियारले अभियानका क्रममा मुख्यरुपमा स्थानीय तहमा लामो समयदेखि पार्टीका तदर्थ समिति भएको र कतिपय एकाइ रिक्तसमेत रहेकोप्रति आक्रोश पोख्दै यथाशीघ्र पूर्णता दिन आग्रह गरेको बताए ।
कांग्रेसको संशोधित विधानमा संविधानअनुसार पार्टीका नयाँ संरचना बनाउन सङ्क्रमणकालीन व्यवस्था गरिएको भए पनि पार्टी कार्यालयले रिक्त कमिटीलाई पूर्णता दिन प्रभावकारी काम गरेको देखिँदैन । कार्यकर्ताले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन गर्न र प्रशिक्षणका लागि समय समयमा केन्द्रबाट पहल हुनुपर्ने माग गरेको उनले बताए ।
रसुवामा कांग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको र समायोजन प्रक्रिया जारी रहेकाले प्रथम चरणको अभियानसमेत लम्बिएर जेठ ३२ गतेसम्म पुग्ने नेता परियारले बताए । रसुवामा सडकलगायत भौतिक निर्माणमा केन्द्र सरकारले खासै ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्