Logo
Logo

बुटवल-नारायणगढ सडक निर्माणमा ठेक्दारको ढिलासुस्तीले यात्रुलाई सास्ती



बुटवल । बुटवल–नारायणगढ सडक विस्तारमा ढिलाई हुँदा यात्रुले बर्षौदेखि सास्ती भोग्दै आएका छन् । यो सडक स्तरोन्नती गरी फोर लेन बनाउने समावधि सकिन ६ महिना मात्रै बाँकी छ । तर, चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा ढिलासुस्ती गर्दा आयोजनाको काम हालसम्म १५ प्रतिशत मात्र सकिएको छ ।

यो सडक निर्माणको जिम्मा चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिीनियरिङ कम्पनीले पाएको छ । फेब्रुअरी ७ सन् २०१९ मा सुरु भएको यो सडक विस्तार आयोजना ७ अगस्त २०२२ मा सकिनुपर्ने भएपनि काम कछुवाको गतिमा भएको छ । रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी हुँदै चितवनसम्मको १ सय १५ किलोमिटरको यो सडक निर्माणको काम हालसम्म ८० प्रतिशत सकिन पर्ने हो ।

लामो समयसम्म सडक निर्माणको काम नसकिँदा यात्रु र सवारी चालकले सास्ती भोग्नु परेको हो । रुपन्देही देवदहका अटो चालक टंकप्रसाद गैरेले सडकमा धुलो र हिलोको समस्या झेल्नुपरेको बताउँदै राति आवत–जावत गर्दा निकै समस्या भएको गुनासो पोख्छन् ।

उता, नवलपरासी रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता बुटवल नारायणगढ सडक राष्ट्रिय राजमार्ग लाइफलाइनकै सडक भएको बताउँदै निर्माणमा ढिलाइ हुँदा यात्रुले दुःख पाउनका साथै दुर्घटनाको मसते जोखिम बढेको बताउँछन् ।

कामदारलाई भूक्तानी विवाद, रुख कटान, कोभिड संक्रमण, विद्युत पोल सार्नपर्ने जस्ता कारणले काममा ढिलाइ भएको सडक निर्माण ढिलाइ भएको देखिन्छ । यो सडक निर्माणमा धेरै रुख काटिएको भन्दै बढी रुख काट्न स्वीकृति दिनेहरु माथि छानबिन गर्न समेतसं संसदीय समितिले शुक्रबार निर्देशन दिएको छ । आयोजनाको काम नै प्रभावित हुनेगरी गलत आकडा पेश गरिएको समितिको ठहर छ ।

लामो समय निर्माण कार्य बन्द भएर गत मंसिरबाट पुनः काम सुरु गरिएपनि गति लिएको छैन । ठाउँ ठाउँमा डाईभर्सन र नालीको काम सुरु गरिएको छैन । साना–ठूला पुल, कल्भर्ट र नाली निर्माणदेखि सडक चौडा गर्ने काम हल्का रुपमा भइरहेको छ । भत्किएको दुई लेनको सडकलाई ‘सिक्स’ र ‘फोर’ लेनमा विस्तारसहित स्तरोन्नति गरिँदैछ । तर, ठेकेदार कामको गति बढाएको छैन ।

पूर्व पश्चिम राजमार्गको मध्य खण्डमा पर्ने महत्वपूर्ण सडक विस्तार आयोजना कोरोना महामारी तथा ‘साईट क्लियर’ र रुख कटानमा ढिलाइ हुँदा अगाडि बढ्न नसकेको योजना प्रमुख प्रदिप शाक्यले बताए ।

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र चितवनको नारायणगढलाई ‘फास्ट ट्रयाक’ सडकले जोड्ने गरी यो सडक विस्तार आयोजना सुरु भएको हो । साढे दुई घण्टाको बुटवल नारायणगढ यात्रा सडक निर्माणका कारण ५ देखि ६ घण्टा लाग्ने गरेको छ । दैनिक साना ठूला गरी करिब ७ हजार सवारी साधन ओहर–दोहर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा यात्रु र सवारी चालकले हैरानी खेप्ने गरेका छन् ।

कुल ११५ किलोमिटर सडकको ३६ महिनामा सक्ने गरी २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । हालसम्म समग्रमा १५ प्रतिशत काम भएपनि पुर्वी खण्डमा अझै ‘साइट क्लीयर गर्नसमेत बाँकी रहेको बताइन्छ । काम सक्नुपर्ने मिति नजिकिँदै जाँदा ठेक्का लिएको चिनियाँ कम्पनीले काम सक्न दुई बर्ष थप समय मागेको छ ।

उता, बहुचर्चित सिद्धबाबा सुरुङमार्गको काम पनि यही चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिीनियरिङ कम्पनीलाई जिम्मा दिइएको छ । जसले गर्दा यो सुरुङ निर्माणको काम पनि समयमा सकिनेमा आशंका उब्जिएको छ ।

एसियाली बिकास बैंकको ऋण सहयोगमा बन्ने सडकको लागत कूल १६ अर्ब रुपैयाँ रहेको छ । कूल लागतमध्ये एसियाली बिकास बैंक (एडीबी)ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्