Logo
Logo

पश्चिम बंगालमा चुनावी असर अझै बाँकी, चार कार्यकर्ताको हत्या


कोलकाता/एएफपी


कोलकाता, २६ जेठ (एएफपी) । भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कंग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् ।
पश्चिम बंगालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भाजपाका स्थानीय नेता मुकुल रोयले ट्वीट गर्दै सन्देशखालीमा आफ्ना तीन कार्यकर्ताको गोली हानी हत्या भएको उल्लेख गरेका छन् ।
विपक्षी समर्थकहरुसँग बेला बेलामा भाजपाका कार्यकर्ताहरुको झडप भइरहने यस प्रदेशमा हालै भएको लोकसभा निर्वाचनमा भाजपाले १८ स्थान जितेको थियो । भाजपाले सन् २०१४ मा भएको निर्वाचनमा दुई स्थान मात्र जितेको थियो ।
भाजपाले देशभरी ३०३ स्थानमा जित हासिल गरेको छ । यसअघि सन् २०१४ को निर्वाचनमा भने २८२ स्थानमा विजयी भएको थियो । भाजपाको तर्फबाट अहिले पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएका छन् ।
त्यसैगरी त्रिणमुल कंग्रेस पार्टी पनि पश्चिम बंगालमा शक्तिशाली मानिन्छ । सो पार्टीकी नेतृ ममता बनर्जीको प्रभाव धेरै रहेको छ ।
भाजपाको झण्डा र पोस्टर राख्नेक्रममा पछिल्लो झडप भएको पार्टीका प्रदेश महासचिव सायन्तन बसुले जानकारी दिए । त्रिणमुलका कार्यकर्ताले भाजपाको झण्डा र पोस्टर टाँस्नेक्रममा अवरोध गरेको बताउँदै आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरिएको दाबी गरेका छन् ।
त्रिणमुल पार्टीका प्रदेश मन्त्री ज्यातिप्रियो मलिकले भने भाजपाका कार्यकर्ताले आफ्ना एक कार्यकर्ताको हत्या गरेको आरोप लगाएका छन् । मलिकले भने, ‘पार्टीको बैठकका लागि जाँदै गरेको बेला हाम्रा एक कार्यकर्तालाई भाजपाका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए, त्यसपछि भाग्न खोज्दा गोली प्रहार गरेर उनको हत्या भयो ।’

प्रतिक्रिया दिनुहोस्