Logo

बिपीवाद खोज्दै देशभर यात्रा !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ जेठ । बिपी संग्रहालय समितिले बिपीवादको खोजी गर्दै जेठ ३० देखि ३२ सम्म सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा गर्ने भएको छ ।
लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन बिपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा गर्न लागिएको समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले राससलाई जानकारी दिए । यात्राका क्रममा संग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको फ्रेममा राखी लगिनेछ ।
यसैगरी संग्रहालयका तस्वीर पनि साथै लैजाने कार्यक्रम छ । यसअघि पहिलो चरणमा फागुन ११ गते कोइरालाहरुको उद्गमस्थल दुम्जाबाट यात्रा प्रारम्भ भएको थियो । दुई वर्षससम्म देशका ७७ वटै जिल्लामा बिपीवादको खोजी गरी यात्रा गरिनेछ ।
तेस्रो चरणमा कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर नेपालगञ्जबाट पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लासम्म यात्रा गरिने संग्रहालय समितिले जनाएको छ ।
चौँंथो चरणमा शहीदहरु दुर्गानन्द झा, सरोज कोइराला, रामनारायण मिश्र, का्रग्रेस नेता महेन्द्रनारायण निधि, आजीवन कारावासको सजाय भोगेका अरविन्द ठाकुर, नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवको जन्मभूमि सांस्कृतिक शहर जनकपुरमा बिपीवादको खोजी गरिने कार्यक्रम रहेको छ । यात्राका क्रममा बिपी विचारलाई जनताको तहसम्म लैजाने कार्यक्रम रहेको छ ।
पाँचौँ चरणमा प्रजातन्त्र पुर्नथापनाका लागि प्राण आहूति दिने शहीद राम, लक्ष्मण, लीला, ठगी आदिको भूमि ओखलढुंगा, भीमनारायण श्रेष्ठको भूमि धनकुटालगायत स्थानमा यात्रा गरिनेछ ।

देशभरको यात्रा सकेपछि समापन कार्यक्रम सर्वोच्च नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा गरिने अध्यक्ष पोखरेलले बताए । विसं २०१७ पुस १ गतेको घटनापछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्