Logo
Logo

विपद् व्यवस्थापनमा विश्वकै समस्या : गृहमन्त्री थापा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ जेठ । गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताएका छन् ।
सोमबारदेखि राजधानीमा शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनका क्रममा उनले यो समस्या कुनै स्थानीय तह वा एउटा देशको मात्र नभइ सम्पूर्ण विश्वको समस्या भएको बताए ।
गृहमन्त्री थापाले विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तन जस्ता विषय राष्ट्रको विकाससँग जोडिएको उल्लेख गर्दै यसमा आइपर्ने चुनौती समाधानमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । विकसित देशका विकास नीतिको परिणाम प्राकृतिक विपद् र जलवायु परिवर्तनमा समस्या उत्पन्न भएको बताउँदै उनले विद्यमान नीतिलाई निरन्तरता दिने कि परिवर्तन गर्ने आजको प्रमुख प्रश्न भएको बताए ।
उनले विकासशील राष्ट्रले जलवायु परिवर्तनमा नखाएको विष लागेको भन्दै यसका विरुद्ध दक्षिण एशियाली मुलुकहरुबीच ऐक्यबद्धता र सहकार्य गरी आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे । दुई दिनसम्म हुने सम्मेलन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा भएको हो ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले स्थानीय तहसँगको सहकार्यले पुनःनिर्माणमा तीव्रता आउनुका साथै सहज भएको उल्लेख गरे । साथै उनले भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि र त्यसको दिगोपनासम्बन्धी विशेष प्रस्तुति दिएका थिए ।
सम्मेलनमा नेपालका करीब ४५, माल्दिभ्सि र भुटान बाहेक दक्षिण एशियाली मुलुकका २५ गरी कूल ७० स्थानीय तहका जनप्रतिनिधि र स्थानीय सरकार विषयका विज्ञको सहभागिता छ । सम्मेलनमा विभिन्न मुलुकका सहभागी विज्ञले विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकाका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
सम्मेलनका विभिन्न सत्रमा विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, गाउँपालिका र नगरपालिका प्रमुखको प्रस्तुति रहने छ ।
विपद्, पुनःनिर्माण लगायतका विषयमा तुलनात्मकरूपमा अनुभव आदानप्रदान गर्ने र भावी रणनीति बनाउन सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्