Logo
Logo

भारतले पुनर्निर्माणलाई दियो थप १ अर्ब ६० करोड सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ जेठ । भारत सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्ताबापतको १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।
भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ताबापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जनाए । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्ताबापत यसअघि २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदूत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताए ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिब ७० प्रतिशतभन्दा बढी सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद समाचार भएको पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्