Logo
Logo

प्रधानमन्त्रीलाई ओलीको पुरानै जवाफ- ‘हाम्रो माग पूरा गर्नुहोस् त्यसपछि सहयोग गरौंला’



काठमाडौं । एमसीसी संसदबाट अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै जवाफ दिएका छन् ।

आज साँझ अध्यक्ष ओली निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ओलीले आफ्ना मागहरु पूरा गरेर संसदमा छलफल गर्ने वातावरण बनाए एमसीसीको विषयमा सदनमै छलफल गर्न सकिने जवाफ दिएका हुन् ।

देउवा–ओली भेटमा सहभागी सूचना प्रतिवधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अध्यक्ष ओलीले पुरानै अडान दोहोर्याएको बताए । भेटपछि संचारकर्मीलाई प्रतिकृया दिँदै मन्त्री कार्कीले भने– ‘प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दलको साथ आवश्यक छ भन्नु भएको थियो । जवाफमा अध्यक्ष ओलीले हाम्रा मागहरु पूरा गरेर संसदमा छलफल गर्ने वातावरण बनाउनुस्, एमसीसीको विषयमा त्यसपछि नै छलफल गरौंला भन्नु भयो ।’

संचारमन्त्री कार्कीले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्था नरहेको समेत बताएका छन् । उनले भने– ‘प्रधानमन्त्रीज्यूले सबै दलको सहमितका साथ एमसीसीलाई अनुमोदन गर्दै अघि बढ्नु पर्छ, हामी सबैले आ–आफ्नो अडानभन्दा दुई पाइला अघि हिडेर भए पनि निकास दिनुपर्छ भन्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्