Logo

फिल्ममा आदिवासीका आवाज


Published On : 11 June, 2019

एमपी सुब्बा

‘केः’ अर्थात च्याबु्रङ । राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा यो साता तीन दिनसम्म च्याबु्रङमय मात्र भएन, उत्कृष्ट फिल्मसमेत बन्यो ‘केः’ ।

‘केः’ लिम्बू समुदायको सांस्कृति बाजा हो भने केःलाङलाई ‘महासंस्कृति’ मानिन्छ । लिम्बू समुदायमा शुभकार्य, विवाह, मेला अनि विभिन्न सेमिनारहरुमा समेत ‘केः’ नाचिन्छ ।

लिम्बू समुदायमा ‘केः’को महत्व युगौँदेखि रहँदै आएको छ । यही सांस्कृति बाजाको निर्माण तथा प्रवद्र्धन गर्ने क्रममा पुर्वको पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू समुदायले राज्यसँग गरेको संघर्षका कथालाई आधार बनाएर निर्माण गरिएको ‘केः’ ‘नेपाल आदिवासी जनजाती चलचित्र महोत्सव–२०७६’मा उत्कृष्ट फिल्म बनेको छ ।

महोत्सवमा आदिवासी समुदायका प्राचिनकालिन कथा मात्र नभएर वतर्मान अवस्थालाई उजागर गर्ने फिल्म समेत प्रदर्शन गरिएको थियो । तिनै फिल्महरुको मूल्यांकन गरेर आयोजक, जुरी र दर्शक छनोटबाट जम्मा आठ वटा विधामा पुस्कार प्रदान गरिएको थियो । जसमा यसपटक गुरुङ भाषाको फिल्म ‘रिजे नाँसा’ले दर्शक च्वाइज अवार्ड पाएको छ ।

‘केः’ले जसरी आदिवासी जनजातीभित्रका लिम्बू समुदायको एउटा सांस्कृतिक पक्षको रुपमा प्रस्तुत गरिएको थियो, त्यस्तै महोत्सवमा अन्य आदिवासीका आवाज र संस्कृति उजागर गर्ने २० वटा फिल्म स्क्रिनिङ गरिएको थियो ।

महोत्सवमा स्क्रिनिङ गरिएका आदिवासी फिल्महरुले नेपालको बहुसांस्कृतिकलाई समेत उजागर गरेको थियो । नेपाल कला र संस्कृतिमा कति धनी छ भन्ने कुरा आदिवासी चलचित्र महोत्सवले दर्साएको थियो ।

जेठ २४, २५ र २६ गतेसम्म चलेको महोत्सवमा नेवार, लिम्बू, राई, गुरुङ, तामाङ, मगर, भुजेल, माझीलगायतका जातजातीका धर्म, संस्कार, संस्कृति र रहन–सहन झल्किने फिल्महरु प्रस्तुत गरिएको थियो । महोत्सवमा नेवारी फिल्म ‘नौलिन भद्रकाली जात्रा’ स्क्रिनिङ गरिएको थियो ।

उक्त फिल्ममा काठमाडौंको बुढानिलकण्ठमा अवस्थित नेपालकै पुरानो मानिएको काली मन्दिरको विषेशताबारे चित्रण गरिएको छ । हरेक वर्ष बुद्ध पूर्णिमाको दिन उक्त मन्दिरमा जात्रा लाग्छ । सोही जात्राको सन्दर्भलाई ‘नौलिन भद्रकाली जात्रा’मा उठाइएको छ ।

नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना यस तेस्रो संस्करणको महोत्सवमा आदिवासीका मुद्दा उठाइएका उत्कृष्ट फिल्म एवं बृत्तचित्र र त्यसका प्राविधिक र कलाकारलाई पुरस्कृत समेत गरिएको थियो । सोही क्रममा ‘केः’ उत्कृष्ट फिल्म ठहरिएको हो ।

महोत्सवमा गुरुङ फिल्म ‘म्ले क्यु’का निर्देशक जसमाया गुरुङले ‘उत्कृष्ट निर्देशक’को अवार्ड पाइन् । फिल्म ‘म्ले क्यु’मा मृत्यु, समय र सम्पति आर्जनबारे लेखिएको एउटा पुस्तकको कथा चित्रण गरिएको छ । जसमा एउटा गुरुङ गाउँमा अल्छी पुरुष गाँस काट्न जाँदा निदाएको बेला प्रसस्त पैसा पाएको सपना देख्छ । त्यो सपनामा देखेको पैसा पाउनलाई पुस्तक ‘म्ले क्यु’ पाउनेपर्ने हुन्छ ।

‘म्ले क्यु’कै खोजीका क्रममा ती पुरुषले बिताएको समयलाई फिल्ममा प्रस्तुत गरिएको छ । गुरुङ भाषामा तयार पारिएको उक्त फिल्ममा गुरुङ समुदायका विविध सांस्कृतिक पाटाहरु समेत उजागर गरिएको छ ।

महोत्सवको अर्को रोचकपक्ष भनेको ‘केःसाङ्ला’ हो । लिम्बू भाषामै निर्माण गरिएको उक्त फिल्मले पनि ‘केः’ र ‘लिम्बू सुमदायको विवाह संस्कारबोर चित्रण गरिएको छ । उक्त फिल्म हेरेपछि दर्शकले उल्टै प्रश्न गरेका थिए, ‘के यो वास्तविता हो ?’

महोत्सवमा सबैभन्दा धेरै दर्शक पाएको फिल्म पनि हो, ‘केःसाङ्ला’ । तर, फिल्म उठाइएको विषयले दर्शकमा भ्रम ल्यायो । फिल्ममा ‘केः’ अर्थात च्याबु्रङको वायाँ भाग हिर्काउने साम्रगीलाई शीर्षक बनाइएपनि लिम्बू समुदायमा रहेको मन परेको केटीलाई ‘जबर्जस्ती’ विवाह चलनलाई उजागर गरिएको छ । फिल्मको एउटा दृश्यमा ‘केटीले नमान्दानमान्दै केटाले जर्बजस्ती बोकेर लान्छ र विवाह गर्छ’ ।

महोत्सवमा आदिवासी समुदायका प्राचिनकालिन कथा मात्र नभएर वतर्मान अवस्थालाई उजागर गर्ने फिल्म समेत प्रदर्शन गरिएको थियो । तिनै फिल्महरुको मूल्यांकन गरेर आयोजक, जुरी र दर्शक छनोटबाट जम्मा आठ वटा विधामा पुस्कार प्रदान गरिएको थियो । जसमा यसपटक गुरुङ भाषाको फिल्म ‘रिजे नाँसा’ले दर्शक च्वाइज अवार्ड पाएको छ ।

उक्त फिल्मले दर्शकबाट ४०१ मत पाएको थियो । उक्त फिल्ममा गुरुङ समुदायमा लाहुरे संस्कृतिको कसरी बोलवाला हुन्छ भन्ने विषय उठान गरिएको छ । फिल्ममा एउटै गाउँका तीन जना साथीमध्ये एक जना लाहुर जान्छन्, एक जना काठमाडौंमा व्यापार गर्छन् र एक जनाचाहिँ गाउँमै खेतीपाती गर्छन् ।

सम्रगमा फिल्मले लाहुर गएर जति नै धन सम्पति कमाएपनि गाउँमै बस्नेले गाउँको विकास गर्छ भन्ने सन्देश दिएको छ । यसै फिल्मबाट बलबहादुर गुरुङले पुरुषतर्फ ‘उत्कृष्ट कलाकार’को पुरस्कार पाएका छन् ।

त्यस्तै, महोत्सवमा मगर भाषाको ‘खुर्पेटो’बाट बिना थापा मगर महिलातर्फ ‘उत्कृष्ट कलाकार’को पुरस्कार हात पारिन् । ‘खुर्पेटो’ मगर समुदायको झण्डामा अंकित मूल चिन्ह हो । फिल्ममा मगर समुदायका युवायुवती प्रेममा आफ्नो मौलिक सिर्जना खुर्पेटो र भांग्रालाई मायाको चिनोका रुपमा प्रयोग गर्छन् भन्ने विषयलाई चित्रण गरिएको छ ।

महोत्सवमा रुचाइएका फिल्ममध्ये एक हो, ‘यारी’ । राई संस्कृतिमा आधारित उक्त फिल्म हेर्न अधिंकाश दर्शकले मन पराएका थिए । तर, उक्त फिल्मले छायाँकारको मात्र अवार्ड पाएको छ । युवराज राई निर्देशित फिल्म ‘यारी’मा नेपालको पुर्वी भेगमा बस्ने आदिवासीमध्ये राईको कथा उनिएको छ ।

फिल्ममा समाज आुधनिकरणमा ढल्किँदै जाँदा आदिवासीहरुले आफ्नो मौलिक पहिचानलाई बिर्सदै गएको र त्यस्ता पहिचानहरुको जर्गेनामा नयाँ पुस्ताले गर्नुपरेको संर्घषका कथालाई चित्रण गरिएको छ ।

त्यस्तै, महेत्सवमा शिक्षाको कमीका कारण राजवंशी समुदायमा अहिलेसम्म चल्दै आएको महिलामाथिको विभेदलाई चित्रण गरिएको राजवंशी शर्ट फिल्म ‘पुन्टी’ बेस्ट शर्ट फिल्म अवार्ड पाएको छ । उक्त फिल्ममा ‘महिलामाथि हुने विभेद अन्त्य हुनुपर्ने जोड दिइएको छ ।

त्यस्तै, सुनुवार भाषाको ‘छेककगु’ले बेस्ट डकुमेन्ट्रीको पुरस्कार पाएको छ । महोत्सवमा पुरस्कारका लागि निर्णायकमा आदिवासी बरिष्ठ फिल्म विजयरत्न तुलाधर, नेपालको पहिलो महिला सिनेमाटोग्राफर शवनम मुखिया र आदिवासी कलाकर्मी राज थापा रहेका थिए ।

महोत्सवमा स्क्रिनिङ गरिएको अधिकांश फिल्ममा आदिवासीहरु युगौँदेखि राज्यबाट अपहेलित भएको र आफ्नो मौलिक कला, संस्कृतिको जर्गेनाका लागि गरिएको संघर्षका पीडा मिश्रित थिए । साथै ती फिल्ममा आदिवासीका कला, संस्कृति र भेषभूषाको जर्गेनाका लागि पछिल्लो समय सरकारबाट भइरहेको सकरात्मक सहयोगले राज्यलाई फाइदा भएको समेत चित्रित गरिएका छन् । महोत्सवको उद्घान गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले भने, ‘आदिवासीका कला, सस्कृति नै देशको सम्पति हो । समृद्ध नेपाल बन्नका लागि कला र संस्कृति पनि अपरिहार्य छ ।’

प्रतिक्रिया दिनुहोस्