Logo
Logo

पुष्पको अगाडि साम्राज्ञी खुलेपछि…


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ जेठ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’का केही दृश्य गर्दा आफूलाई डर लागेको बताएकी छन् ।
चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीत रिलिज कार्यक्रममा उनले भनिन्, ‘मैले यस्तो खालको डान्स यसअगाडि गरेको थिइनँ । रोमान्टिक गीत मात्र गरेकाले पनि यसमा डान्स गर्दा लाज लागेको थियो ।’ उनले चलचित्रका कतिपय दृश्य गर्दा डर पनि भन्दै भनिन्, ‘तर, निर्मात्री पूनम गौतमले राम्रो छ भन्दा काम गर्न हौसला मिल्थ्यो ।’ चलचित्रको गीत मंगलबार सार्वजनिक गरिएको हो ।
कार्यक्रममा साम्राज्ञीले नायक पुष्प खड्काको खुलेर प्रशंसा गरिन् । उनले आफूसँग काम गर्ने अर्को कलाकारको अभिनय पनि उत्कृष्ट हुँदा रमाइलो हुने भन्दै पुष्पमा त्यो क्षमता भएको सुनाइन् ।
यस्तै, चलचित्रका नायक पुष्प खड्काले गीतको बारेमा भने–‘म पहिलेदेखि नै बलिउडका गीत हेरिरहन्थेँ । उनीहरुको फरक खालको डान्स मुभ आफूले पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यो गीतको भिडियोमा मैले सानो भएपनि त्यो कोशिश गर्न पाएको छु ।’
चलचित्रका निर्देशक नवल नेपालले ‘मारुनी’बाट दर्शकलाई सन्तुष्ट बनाउने प्रयास गरेको बताए । उनले भने–‘मलाई थोरै मिठो भएपनि पुग्थ्यो । मेरो टिमलाई धेरै मिठो चाहिएको थियो । यसैले, चलचित्रलाई दर्शकको मन पर्ने अनुसार बनाउन खोजेको छु ।’
चलचित्रकी निर्मात्री पूनम गौतमले ‘मारुनी’ फरक स्वादको चलचित्र भएको भन्दै दर्शकलाई मनपर्ने बताइन् । उनले, चलचित्रको सम्पूर्ण टिमसँग काम गर्दा खुशी लागेको सुनाइन् ।
चलचित्रकी अर्की नायिका रेविका गुरुङले आफूले पाएको भूमिकालाई सक्दो न्याय गरेको सुनाइन् । भदौ १३ गतेबाट रिलिज हुने चलचित्रको कथावस्तु भने खुलाइएको छैन ।
पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा नवल नेपाल निर्देशित चलचित्रको गीत रिलिज गरियो । कार्यक्रममा निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायत उपस्थित थिए ।
गीतको भिडियोमा नायक पुष्प र नायिका साम्राज्ञीको साथमा सय बढी कोरस फिचर्ड छन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।
यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ । ‘मारुनी’ले दर्शकको मुटु छुने निर्देशक नवल नेपालको दाबी छ । चलचित्रमा राजा प्रधान,दर्शना केसी र मिना क्षेत्रीको सह लगानी छ ।

प्रतिक्रिया दिनुहोस्