Logo
Logo

एमाले नेताको दबाबमा दोषीलाई उन्मुक्ति



धरान । ट्राफिक जाम घटाउन ६ लेनको सडक धमाधम बन्दै छ । हाल जोगवनीदेखि धरानसम्म निर्माणाधीन ६ लेनको सडकमा दिनहँु दुर्घटना हुन थालेको छ । चालकहरूलाई खुला सडकमा सवारी चलाउने ज्ञान नहुँदा दुर्घटना बढिरहेको छ । उदाहरणका लागि गत माघ १८ गते इटहरीको हलगडामा भएको एक दर्दनाक सवारी दुर्घटनालाई लिन सकिन्छ । धरानबाट विराटनगरतर्फ गईरहेको को १ ख ६१०८ नम्बरको ट्यांकर अचानक बाटोमा रोकिदिँदा पछाडिबाट आएको को १ ह ६४४१ नम्वरको टेम्पो ठोक्कियो । जसका कारण टेम्पोमा सवार नेकपा एमालेका स्थानीय नेता योगेन्द्र बजगाईको मृत्यु हुनाका साथै अन्य ४ जना घाइते भए ।

दुर्घटनालाई इटहरी प्रहरीले सामान्य रुपमा लियो । हल्का रुपमा मुचुल्का उठाएर घटनाको सवै दोष टेम्पो चालकलाई थुपारियो । तर, दुर्घटनास्थलमा रहेको सीसीटीभी पुुटेज हेर्दा कुदिरहेको ट्यांकर अचानक रोकिदिँदा पछाडिको टेम्पो ठोकिएर दुर्घटना भएको देखियो । ट्यांकर चालकले सडकमा साइकलले बाटो काट्दा अचानक रोक्न परेको बताए पनि सीसीटीभी फुटेज हेर्दा साइकलवालाहरूले बाटो काटेको देखिदैन । उनीहरू सडक छेउ उभिरहेका देखिन्छन ।

ट्यांकर चालकले ओभरटेक गर्ने साइडमा अर्थात विपरीत दिशामा एक्कासी रोक्दा दुर्घटना भएको देखिन्छ । दुर्घटनापछि ट्यांकर चालक उत्रिएर टयाम्पोतिर हेर्छन । दुर्घटनास्थलमा मान्छे छटपटाइरहेको देखेपछि ती चालक कागजात लिएर भाग्छन । चालक भाग्दाभाग्दै दुईजना सडकयात्रीले पछ्याइरहेको सीसीटीभी फुटेजमा स्पष्ट देखिन्छ ।

दुर्घटनामा ट्यांकर चालकको पूर्ण दोष देखिए पनि अहिले ट्यांकरधनी एमाले इटहरी क्षेत्रका प्रदेश सांसद लिलम वस्नेत र टयांकर व्यवसायी संघका पदाधिकारीहरूले धरान १६ वस्ने टेम्पो चालक लोमस वस्नेतकी पत्नी रितिकालाई क्षतिपूर्ति दिन दबाब दिएका छन् । ‘दुर्घघटनामा टेम्पोको गल्ती भएकोले मृतकलाई पाँच लाख र घाइते महिलालाई उपचार खर्च सवै तिर्न भनिरहेका छन । तर, हामी त्यही टेम्पोको आम्दानीवाट पाँच जनाको परिवार पालिरहेका छौँ । गरिब मान्छेले कताबाट तेत्रो पैसा तिर्नु ?’ रितिकाले गुनासो गरिन ।

सीसीटीभी फुजेटमा ट्यांकर चालकको लापरबाही देखिए पनि ट्यांकरधनी एमाले नेता भएका कारण प्रहरीले टेम्पो चालकलाई दोषी देखाइरहेको छ ।

प्रहरी भन्छ–अनुसन्धान जारी छ
दोष कसको भन्ने प्रश्नमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खडका अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने बताउँछन् । जसको गल्ती देखिन्छ, उसैले क्षतिपूर्तिको तिर्नुपर्ने उनले बताए । तर, सीसीटीभी फुटेजमा ट्यांकर चालकको दोष देखिन्छ नि भन्ने प्रश्नमा उनी बोल्न चाहेनन् । दुर्घटनामा धरान १५ का एमाले नेता ६० वर्षीय योगेन्द बजगाईको मृत्यु भएको थियो भने धरान– १३ कि ३४ वर्षीय निल वर्मा गम्भीर घाइते भएकी थिएन । वर्माकी दुई छोरी र चालक सामान्य घाइते भएका थिए । मृतकका भाई देवेन्द्रले घटनामा ट्यांकरको दोष देखिएकाले यस्तो गल्ती नदोहोरियोस भनेर चालकलाई कडा कारबाहीको माग गर्दै अदालत जाने बताए ।

प्रतिक्रिया दिनुहोस्