धर्मले मान्छे जन्माउँदैन । मान्छेले जन्माउने हो, धर्म । जन्मदा कसैले धर्म लिएर आएका हुँदैनन् । न संस्कार ल्याएका हुन्छन्, न त कुसंस्कार नै ।
मान्छेको गुणअनुसार उसले मान्ने धर्म निर्धारण हुँदैन । पढाइ, पेसा, पद-प्रतिष्ठान, सम्पत्ति, रुपरंग केहीले उसको धर्म निर्धारण गर्न सक्दैन । उ हुर्केको परिवार, समाज र वातावरणले प्रभाव पार्छ ।
नेपाल धर्म र संस्कृतिले भरिपूर्ण देश हो, यसमा दुईमत छैन । धर्म–संस्कृति हाम्रा निधि हुन् । यसको जगेर्ना गर्नैपर्छ ।
यहाँ हिन्दू धर्मावलम्बी धेरै छन् । महाशिवरात्रि हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक पर्व हो । पञ्चाङनुसार हरेक वर्ष फागुन कृष्णपक्ष चतुर्थीका दिन महाशिवरात्रि मनाइन्छ । यस असवरमा शिवभक्तहरू शिवको पूजाआराधना र उपाशनाका लागि शिवालय जान्छन् । शिवलिङ्गमा जल, दूध र वेलपत्र चढाएर पूजा गर्छन् ।
पशुपतिनाथ मन्दिर हिन्दूका लागि महत्वपूर्ण धार्मिकस्थल हो । हिन्दू धर्मका आराध्यस्थल हो । हिन्दू धर्मालम्बी पशुपतिनाथलाई एकपटक पुग्नैपर्ने तीर्थस्थलको रुपमा लिन्छन् ।
महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको मेला लाग्छ । पशुपति मन्दिरमा शिवको पूजा गर्न हजारौं भक्तजन घण्टौं लाइन बस्नुपर्छ । शिवको पूजासँगै नागा बाबाको नग्नता हेरेर फर्कन्छन् !
सार्वजनिक ठाउँमा दिनदाहाडै लिङ्ग प्रदर्शन गर्ने संस्कार ! कस्तो संस्कार ? संस्कार कि कुसंस्कार ? धर्मका नाममा कुसंस्कारलाई बढवा त दिँइदै छैन ? बाबाको लिङ्ग हेरेर कहिलेसम्म रमाइलो गर्ने ? बाबालाई कहिलेसम्म लिङ्ग प्रदर्शन गराउने ? र, कहिलेसम्म धार्मिक कर्मको ढोङ पिट्ने ?
पशुपात क्षेत्रमा नागा बाबा प्रशस्तै भेटिन्छन् । भक्तजनको भिडभाडबीच नागा बाबाहरू यत्रतत्र घुमिरहेका हुन्छन् । पशुपति मन्दिर पारीको राम मन्दिर परिसरमा खरानी धसेर ‘जय शम्भो’ र ‘हरहर महादेव’ भन्दै नाङ्गै बसेका जटाधारी बाबाले भरिन्छ ।
होला, हिजो हामी नाङ्गै जन्मियौं । जङ्गली युगमा मान्छे सबै नाङ्गै हिँड्थे होला । तर त्यसो भनेर आजको सभ्यतामा नाङ्गै हिँड्न मिल्दैन । नेपालको कानुनअनुसार पनि सार्वजनिक स्थानमा नाङगो हिँड्न पाइँदैन । तर, बाबाहरूलाई छुट छ !
युवा पुस्ता बाबाहरुको नाङगो स्वरुप खासै नराम्रो मान्दैछनन् । धेरैलाई खासै असर नगर्ला । तर, बालबच्चा र टीनएजरलाई केही असर स्वभाविक पर्छ ।
दिदीबहिनीले छोटा लुगा लगाएको नपच्ने समाज बाबाहरुको नग्न स्वरुप स्वीकार गर्छ । र, भनिरहेको छौँ-यो हाम्रो धर्म हो । संस्कार हो । यदि, नाङ्गै हिँड्नु संस्कार भए किन शिवरात्री नै पखर्नुपर्याे ? अरुबेला पनि हिँडे हुने होला !
२१औं शताब्दीका आधुनिक मान्छे भन्दै गर्व गर्छौं । परिवर्तन स्वीकार्नुपर्छ भनिरहेका हुन्छौं । तर, विवाह नभएका महिलाले नागा बाबाको लिङ्ग ढोक्दा राम्रो पति पाइने, सन्तान नभएका महिलाले बाबाका शरीर तथा लिङ्गमा धसेको खरानीको टीका लगाउँदा सन्तान प्राप्ति हुनेजस्ता जस्ता रुढीवादी भ्रमलाई चिर्न सकेका छैनौं । धार्मिक परम्पराको नाममा सदियौंदेखि चलिआएका यस्ता विकृतिलाई गर्वको रूपमा लिइरहेका छौँ ।
हो, हामीले हाम्रो धर्म-संस्कारलाई जोगाउनुपर्छ । तर, रुढीवादी भ्रमलाई कहिलेसम्म पालिराख्ने ? कुसंस्कारलाई संस्कारको रूपमा कहिलेसम्म अँगालिराख्ने ?
यस्ता भ्रमहरूले नै संस्कृतिको नाममा विकृति मौलाएको छ । सार्वजनिक ठाउँमा दिनदाहाडै लिङ्ग प्रदर्शन गर्ने संस्कार ! कस्तो संस्कार ? संस्कार कि कुसंस्कार ? धर्मका नाममा कुसंस्कारलाई बढवा त दिइरहेका छैनौं ? बाबाको लिङ्ग हेरेर कहिलेसम्म रमाइलो गर्ने ? बाबालाई कहिलेसम्म लिङ्ग प्रदर्शन गराउने ?
महाशिवरात्रिमा नागा बाबाहरू खासगरी भारतबाट ल्याइन्छ । नागा बाबाहरुलाई बोलाउने परम्परा पहिलेदेखि चल्दै आएको छ । यो एउटा जल्जाको विषय हो । यस्ता बाबाहरूको उपस्थितिले पशुपात क्षेत्रमा लाजमर्दो माहोल बन्छ ।
आफू ‘शिवभक्त’ भएकाले नाङ्गै हिड्ने बाबाहरू बताउँछन् । उनीहरू भन्छन्, ‘हामी शिवभक्त हौं । त्यसैले उहाँको दिगम्बर स्वरुपलाई ग्रहण गरेका हौं ।’ तर, आजसम्म शिवले कतै पनि नग्न रूप धारण गरेर बसेका छैनन् । देखेका पनि छैनौं । महाभारत, गीता, पुराणमा पनि नांगै हिँड्नु संस्कार हो भनेर लेखिएको छैन ।
यदि, नागा बाबाको स्थानमा नाङ्गो महिला ‘माता’लाई राख्दा के हुन्छ ? के यो समाजले पचाउला ? कुनै धर्म-संस्कारको नाममा महिलाले यौनाङ्ग प्रदर्शन गर्यो भने यो समाजले बाँच्न देला ? पुरुषको यौनाङ्ग प्रदर्शन गर्दा धर्म, महिलाको गर्दा पाप ! पुरुष र महिलाको यौनाङ्गबीच यति धेरै विभेद किन ?
कानुन नभएको समयको कानुन हो, धर्म । जसले मान्छेलाई एउटा नियममा बस्न सिकायो । विधि र संस्कार सिकायो । इमान्दार बनयो । यसले आफूभन्दा सानालाई माया, आफूभन्दा ठूलालाई सम्मान गर्न सिकायो । कुकर्म गर्न खबरदार गर्यो ।
हामी मानव विकासको उच्चतम युगमा छौं । हामीसँग कानुन छ । संविधान छ । के असल के खराब छुट्याउन सक्छौँ । संस्कार र कुसंस्कार छुट्याउने हैसियत छ । तर, पहिलादेखि नै धर्मको नाममा चलिआएको कुसंस्कारलाई हटाउन सकेका छैनौं । वेवस्ता गरिरहेका छौँ । यो हाम्रो गैरजिम्मेवारपन हो । कुनै हत्यारालाई ‘मान्छे मार्ने यसको बानी नै हो’ भनेर छोडियो भने कुनैदिन आफैँलाई मार्न पनि सक्छन् ।
धर्म मान्ने, नमान्ने अधिकार वैयतिक स्वतन्त्रताका हो । कुन धर्म मान्ने त्यो पनि व्यक्तिकै जिम्मा हो । कुन धर्म राम्रो, कुन धर्म नराम्रो त्यो यसको मापक केही छैन । तर, धर्मको नाममा कुसंस्कारलाई अंगिकार नगर्दा राम्रो । नराम्रलाई त्याग्दै र राम्रालाई अँगाल्दै जाँदा राम्रो ।
विकृति, विसंगति अन्त्यका लागि सचेत वर्ग सक्रिय हुनैपर्छ । ‘एक सर्को, दुनियाँ अर्को’मा भुल्न हुँदैन । नागा बाबासँगको सेल्फीले रङ्ग्याउन छाडिदिऊ सामाजिक सञ्जाल । यस्ता कुसंस्कारलाई शिवरात्रिको विशेषता नबनाउँदा नै धार्मिक आस्थाको शोभा बढ्छ । कुसंस्कार बन्द गर्ने, संस्कार बसाल्ने, सामाजिक सद्भाव कायम राख्ने सबैले प्रण गर्नु उत्तम हुन्छ ।
धर्मका आडमा हुने विकृति, विसंगतिहरू बेलैमा नहटाए अन्य विकृतिहरू थपिँदै जान्छन् । यस्ता विकृति हटाउनु भनेको नारीप्रतिको सम्मान पनि हो । त्यसैले महिला, सरोकारवाला निकाय, हिन्दू पण्डित, ज्योतिषी, राजनीति दल, वुद्धिजीवी सबैले यसमा बहस गर्न तयार हुनुपर्छ ।