Logo
Logo

जसलाई भोट दिएपनि उस्तै हो, भोटै दिन्न भन्ने धेरैलाई लाग्न सक्छ : महामन्त्री शर्मा


4.9k
Shares

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।

मध्यपुरथिमि–४ बालकुमारीमा आज नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरे ।

‘म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाइ पहिलोपटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ’, महामन्त्री शर्माले भने, ‘जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले कांग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, मतदान गर्नुस् ।’

पाँच वर्षका लागि चुनाव जितेको नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उनले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरे ।

महामन्त्री शर्माले भने, ‘हुन त ठूलो पार्टीका अध्यक्ष, प्रधानमन्त्री भइसकेका मान्छे, अझै मिडियासँग अन्तर्वार्ता दिँदै हातका औँला हल्लाउँदै ओलीजी भन्नुहुन्छ– एक्लै–एक्लै आऊ, नसके सबै मिलेर आऊ, एमाले भिड्न तयार छ’, यो कस्तो दादागिरी शब्द चयन हो ?’

जनताले स्थितर र बलियो सरकार चाहिरहेको बेलामा एमालेलाई फेरि बहुमत दिए पाँच वर्ष सरकार चलाउन सक्छ भन्ने विश्वास अब नभएको उनले बताए ।

नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो । ‘आज पनि बूढानीलकण्ठ गाएको छ, भोलि पनि त्यहीँ जानेछ ।’

उनले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा ढङ्ग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्दै कांग्रेसले कुनै पनि विषयमा राष्ट्रघात नगर्ने बताए ।

एमसिसी राष्ट्रघात हो भन्ने कुरा बेकार हो भन्दै उनले कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताए । कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै उनले एमसिसीमा सैन्य रणनीति नरहेको प्रष्ट पारे ।

‘बानेश्वरको सडकमा एमसिसी मूर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, फेसबुकमा नो एमसिसी लेख्नेको दोष छैन, जसले यो एमसिसी पास हुनेबित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे । यो यस्तो हो, उस्तो हो भनेर भ्रम फैलाए, दोष उनीहरूको हो, द्वैध चरित्र देखाउने नेताहरूको हो’, उनले भने, ‘कमरेड प्रचण्ड र माधव नेपाल अहिले सहमत हुनुभयो । तर, उहाँहरू नै हो, बालुवाटारमा सहमति गरेर बानेश्वरमा जुलुस लगाउने पनि । उहाँहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो । अहिले उहाँहरू नै यसको पक्षमा हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्