काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी संसदबाट अनुमोदन भएसँगै सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् ।

पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो ।’ उनले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको समेत बताए ।
माओवादीका एक नेताका अनुसार अध्यक्ष प्रचण्डले गठबन्धन बनाउँदा एमसीसीलाई सर्तको रुपमा नराखेको र साझा नीति कार्यक्रममा पनि एमसीसीमा नराखिएको बताए । उनले भने, ‘मतमतान्तर भएपनि निकास दिइयो । अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करिब निश्चित भयो ।’











