Logo
Logo

कर्मचारीकै मिलेमतोमा सुन तस्करी


4.2k
Shares

काठमाडौं । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिए । गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका थिए तर त्यो क्रम रोकिएको छैन ।

फाइल फोटो

गत शनिबार एक किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला इटहरीका कमल घिमिरेले दुबईबाट ल्याएका १० वटा सुनका सिक्री हुमागाईंले भन्सार छलेर बाहिर पठाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै गत माघ २९ गते चार केजी ८४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ ली भन्सार पार गरेपछि पक्राउ परेका थिए । हिमालयन एयरलाइन्सको दुबई उडानमा आएका लीले समेत सेटिङ मिलाएर सुन ल्याएको बारे अनुसन्धान भइरहेको छ । उनी ३०औँ पटक नेपाल आएको पाइएको छ ।

विमानस्थल प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा १७ केजी ३३८ ग्राम, २०७५/७६ मा २७ केजी ११ ग्राम, २०७/७७ मा साढे तीन केजी र २०७७/७८ मा ३२ केजी तथा चालू आव २०७८/७९ मा मात्र १९ केजी तस्करीको सुन विमानस्थल प्रहरीले बरामद गरेको छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार विमानस्थल भएर तीन किसिमले सुनको तस्करी हुने गरेको छ । विमानका कर्मचारीको मिलेमतोमा हुने तस्करी विमानको डस्टबिन हुँदै बाहिर निकालिन्छ । दोस्रो, अध्यागमन र भन्सारका केही कर्मचारीको सहयोग र सेटिङमा र तेस्रो, विमानस्थलका सुरक्षाकर्मीले प्रयोग गर्ने बाटो हुँदै तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

गृह मन्त्रालयले २०७४ चैत २० मा सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरेको विशेष अनुसन्धान समितिले ३३ किलो सुन प्रकरणका प्रमुख मानिएका चूूडामणि उप्रेती ‘गोरे’को डायरीमा पाँच वर्षभित्र ३८ सय केजी सुन तस्करी भएको तथ्य खुलेको पाएको थियो । समितिका एक उच्च अधिकारीका अनुसार गोरे समूहले मात्र एकै महिनामा २३ पटक ३३ केजी सुन तस्करी गरेको थियो ।नेपालमा दैनिक औसत ३० केजी सुनको माग छ ।

नेपाल राष्ट्र बैङ्कको अनुमतिमा वाणिज्य बैङ्कहरूले २० केजी मात्र सुन लिन पाउँछन् । बैङ्कहरूबाट किनेको सुन व्यवसायीले ग्राहकलाई बेच्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुन स्रोत खुलाएर व्यक्तिगत प्रयोजनका लागि ल्याउन पाइन्छ । यसलाई तस्करहरूले सुन तस्करीको माध्यम बनाएका छन् । वैदेशिक रोजगारबाट फर्किने कामदारलाई सुनको भरियाका रूपमा समेत प्रयोग गरिरहेको पाइएको छ ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी सेटिङबाट नै सुनको तस्करी हुने गरेको बताउँछन् । उनले भन्सार छल्ने उद्देश्यले सुन तस्करी हुने गरेको र लगानीको अनुपातमा कम फाइदा हुने भएकाले तस्करले सेटिङको बाटो प्रयोग गर्ने बताए । सीआईबीका पूर्वनिर्देशकसमेत रहेका भण्डारीले चुनावको समय तस्करी बढी हुने र सोहीअनुरूप विमानस्थलमा कर्मचारीको सेटिङ हुने गरेको दाबी गरे ।

तस्करीमार्फत आएको सुन कतिपय नेपालका सुन व्यवसायीले खरिद गरी बेच्ने गरेको आरोप लाग्ने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले माग बढी र आयात कम हुनु नै सुन तस्करीको मुख्य कारण रहेको दाबी गरे ।

उनले सुनको स्रोत खोज्ने र त्यसको प्रमाणित गर्ने निकाय व्यवसायी नभएको भन्दै यसबारे राज्यले अनुसन्धान गर्नुपर्ने बताए । नेपाल राष्ट्र बैङ्कले सुनलगायत विदेशी वस्तुको आयात आवश्यकता औचित्यताका आधारमा गर्ने नीति बनाउँछ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा। गुणाकर भट्टले बजारले गरेकै आधारमा वस्तुको आयात गर्न नसकिने बताए । यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्