Logo
Logo

‘संघीयता मजबुत बनाउन प्रदेशहरु एकजुट हुनुपर्छ’


693
Shares

जनकपुरधाम । संघीयता सुदृढ पार्न संघीय सरकार बाधक रहेको भन्दै गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीले अधिकार प्राप्तिका लागि प्रदेश सरकारहरु एकजुट भएर अगाडि बढुनुपर्ने बताएका छन् ।

मधेस र गण्डकी प्रदेशबीच आन्तरिक पर्यटन प्रवद्र्धनका क्रममा जनकपुरमा भएको छलफलमा दुवै मुख्यमन्त्रीले सो कुरा बताएका हुन् । उनीहरुले अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत रहेको धारणा राख्दै आगामी दिनमा प्रदेशबीचको सहकार्यलाई अझ घनिभूत बनाई प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजश्वको बाँडफाँडमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले प्रदेश विकासका आवश्यकताहरु पूरा गर्न सम्भव नहुने बताए । उनले भने, ‘नेपाल सरकारले अझ पनि केन्द्रीय कार्यालयहरु हटाएको छैन । कर्मचारी समायोजनमा पर्याप्त भूमिका खेलेको छैन । शान्ति सुरक्षा लगायतका मुख्य काममा प्रदेशलाई अधिकार दिएको छैन । जसले गर्दा प्रदेश सरकार चाहेर पनि काम गर्न सक्ने अवस्थामा छैन ।’

ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या रहेको, विकास निर्माणमा बाधक विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान नदिएको भन्दै यसका लागि प्रदेशहरुले एकताबद्ध भएर आवाज उठाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘ठूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको छ । यसमा प्रदेशको संलग्नता वृद्धि हुनुपर्दछ ।’ उनले अन्तर प्रदेश समन्वय परिषद्को बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्नेतर्फ पनि घच्घच्याउनु आवश्यक रहेको बताए । साझा सरोकारका विषयमा समय समयमा मुख्य मन्त्रीहरुबीच छलफल गरी अनुभव तथा सहयोगको आदान प्रदान तथा संघीयताको प्रवद्र्धनका लागि स्पष्ट धारणा बनाउनु आवश्यक रहेको भन्दै उनले सबै प्रदेशका मुख्य मन्त्रीसँग समन्वय गरी उपयुक्त समयमा मुख्यमन्त्रीहरुको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको उनले बताए ।

गण्डकी र मधेस प्रदेशका बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र जनताको सुखका लागि अन्तरप्रदेशका बीचमा सहकार्य अति आवश्यक रहेको विचार व्यक्त गरे । गण्डकी प्रदेशमा आएका पर्यटकलाई मधेश प्रदेश र मधेश प्रदेशमा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाईमा अगाडि बढाउन सकिने उनको भनाइ थियो । उनले भने, ‘जल पर्यटन, कृषि पर्यटन, शिक्षा र स्वास्थ्य पर्यटनमा पनि सहकार्य गर्न सकिन्छ ।’ आपसी हितका बृहत परियोजनाहरु जानकी, लुम्बिनी, मुक्तिनाथ र पोखरा जोड्ने सर्किट विकास गर्न सकिने भन्दै मुख्यमन्त्री पोखरेलले हवाई उडानलाई नियमित बनाउने र यसको क्षमता बढाउन सक्ने सम्भावना पनि रहेको बताए ।

अन्तरप्रदेश सद्भावना भ्रमणले दुई प्रदेशबीच सहयोगको आदान प्रदान र भ्रातृत्व आगामि दिनमा झन् बढेर जाने विश्वास उनले व्यक्त गरे । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु रावतले गण्डकीका असल अभ्यासको अनुकरण आफूहरुले गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारहरुले सामूहिक रुपमा एजेण्डा बनाएर आवाज राखेको खण्डमा संघीय सरकार त्यसलाई सम्बोधन गर्न बाध्य हुने उनको भनाइ थियो । संविधानले सुनिश्चित गरेका अधिकारलाई रोक्ने ताकत कसैसँग नरहेको भन्दै उनले यसको प्राप्तिका लागि आफूहरु लागीपर्ने भनाइ राखे । पर्यटकीय र धार्मिक सम्बन्ध कायम गर्नका लागि मधेश सरकार तयार रहेको मुख्यमन्त्री रावतले बताए ।

प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले दुई प्रदेशबीचको पर्यटकीय र धार्मिक सम्बन्ध जोड्न सरकार तयार रहेको बताए । उक्त अवसरमा गण्डकी प्रदेश पर्यटन, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल र मधेश प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विन्दुकुमारी मिश्रले तत्तत् प्रदेशमा पर्यटनको सम्भावनाका बारेमा प्रस्तुति राखेका थिए । कार्यक्रममा नाटा गण्डकी च्याप्टर अध्यक्ष सञ्जयकान्त सिग्देलले अब दुई प्रदेशबीच हवाई सम्पर्क स्थापित भएपछि पर्यटन प्रवद्र्धनमा सुधार हुने विश्वास व्यक्त गरे । नाटा मधेश च्याप्टर अध्यक्ष मोहन शर्मा लामिछानेले पोखरा र जनकपुरबीच हवाई उडान सुरु भएको दिनलाई मधेस प्रदेशले उत्सवका रुपमा मनाएको बताए । त्यसक्रममा उद्योग वाणिज्य संघ जनकपुरका पूर्व अध्यक्ष इन्जिनियर प्रकाशचन्द्र साह, जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साहलगायतले भनाइ राखेका थिए ।

पोखरा-जनकपुर उडान सुरु
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेश प्रदेशको भ्रमणमा निस्केको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणामा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणामा गत असोज ६ गते मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो ।
प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रवद्र्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए । सांस्कृतिक महत्व बोकेको जनकपुर र पर्यटकीय महत्व बोकेको पोखराबीच हवाई यातायात सेवा भएपछि दुवै क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास लिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा–जनकपुर उडान सुरु गरेकै दिन पोखरेल नेतृत्वको टोली जनकपुर आइपुगेको हो । टोलीलाई जनकपुर विमानस्थलमा मधेश प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले स्वागत गरे । गण्डकीको टोली विमानस्थलबाट सिधै मुख्यमन्त्री कार्यालय पुगेको थियो । मधेशका मुख्यमन्त्री राउतले संघीय सरकारसँग पौंठेजोरी खेल्दै संघीयतालाई मजबुत बनाउने काममा सरकार लागेको बताए । जानकीको जन्मथलो जनकपुर र पोखराबीचको सम्बन्धलाई मजबुत बनाउने यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री पोखरेलले शनिबार नै प्रदेशप्रमुख हरिशंकर मिश्रसँग औपचारिक भेट गरेर भ्रमणको उद्देश्यबारे जानकारी गराए । मुख्यमन्त्रीसहितको टोलीले जनकपुरदेखि कुर्थासम्म ५ किलोमिटर खण्डमा रेल यात्रा समेत गरेको छ । त्यसपछि टोली धनुषाधाम पुगेर साँझमा गंगा आरतीमा समेत सहभागी भएको थियो ।

गण्डकीको भ्रमण टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, उद्योग तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपिबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल, नाटा पोखरा च्याप्टर अध्यक्ष सञ्जय सिग्देल, महासचिव कमला गिरी, पर्यटन व्यवसायी एवं उद्योगी छन् । नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाटा) पोखरा च्याप्टरले भ्रमणका लागि सहजीकरण गरेको छ । गण्डकीको टोली आइतबार मधेश प्रदेशका विभिन्न पर्यटकीय र धार्मिकस्थलको अवलोकन गरी सोमबार पोखरा फर्कने कार्यक्रम तय भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट सातवटै प्रदेशमा एअर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ । जनकपुर पोखरा अब साताको २ दिन उडान हुनेछ । यसअघि मधेश प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एअर उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि यही बिहीबारबाट उडान सुरु भएको छ । भैरहवा, नेपालगन्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्