
काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरिएको छ । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि आवेदन आह्वान गरेको हो ।
‘विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एकजना महिलासहित) पदमा नियुक्तिका लागि सोही दफामा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उमेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिसमक्ष तपसिल बमोजिमका कागजात तथा विवरणसहित यस मन्त्रालयमा आवेदन पेस गर्न यो सूचना प्रकाशन गरिएको छ’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको उक्त सिफारिस समितिको सूचनामा भनिएको ।
इच्छुक आवेदकले विद्युत् नियमन आयोग नियमावली, २०७५ को अनुसूची–१ बमोजिमको आवेदन (आवेदनसाथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।















