काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचानसहितको कोप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कोप कार्ड जारी गर्न लागिएको हो ।
ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरुले कोप कार्ड जारी गर्नेछन् । यसका लागि एससिटीले चाइना युनियन पे (युपिआई) सँग सहकार्य गर्दै आएको छ । सहकारीका सबै सदस्यलाई सेवा पु¥याउदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटिएम÷पिओएसमार्फत सहजै चलाउन सकिनेछ ।
यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन । यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुने बैंकले जनाएको छ ।
यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने जनाइएको छ ।











