
खोटाङ । जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा कार्यरत् दुईजना गाउँ प्रहरीलाई सेवाबाट हटाइएको छ ।
विसं २०७६ फागुन १४ गतेदेखि कार्यरत् दुई गाउँ प्रहरीले कार्यसम्पादनमा चित्त बुझ्दो काम नगरेकाले उनीहरुलाई सेवाबाट हटाइएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । तीन गाउँ प्रहरी भर्ना गरिएको उक्त गाउँपालिकामा हाल एक जनामात्रै कार्यरत् छन् ।
दुई हटाइएसँगै रिक्त बनेको दरबन्दीमा नयाँ गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकारात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चार गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ । गाउँ प्रहरीले हाल कार्यालयमा हुने भीडभाड नियन्त्रण गर्ने, ऐसेलुखर्क बजारका सडक पेटीमा सामान राखेर बिक्री गर्न तथा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्याउनेमा रोक लगाउनेलगायतका काम गर्दै आएको छ ।
यस्तै, बजारमा हुने अनियमितता नियन्त्रण गर्दै बजारलाई अनुशासित राख्नका लागि गाउँ प्रहरीले माइकिङ गर्ने, सिट्ठी बजाउँदै हिँड्नेलगायतका भूमिका निर्वाह गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँ प्रहरीलाई कार्यालय सहयोगी सो सरहको सेवा–सुविधा पाउने गरी भर्ना गरिएको उनले जानकारी दिए । दश स्थानीय तह रहेको जिल्लामा ऐसेलखर्क गाउँपालिकाले जिल्लामै पहिलोपटक तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसारको नीतिलाई कार्यान्वयन गर्दै ऐसेलुखर्क गाउँपालिकाले नागरिकको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न गाउँ प्रहरी भर्ना गरेको हो । गाउँपालिकाले नियुक्त गरेको गाउँ प्रहरीले नेपाल प्रहरीसँगको सहकार्यमा उक्त गाउँपालिकाको कार्यालयका साथै सातवटै वडाको सुरक्षामा सहयोग गर्दै आएको छ ।











