
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पार्टीलाई सुदृढ र बलियो शक्तिका रूपमा स्थापित गर्न तत्कालीन कार्ययोजना अघि सारेको छ । बुधबारदेखि सुरु हुने पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमा सो कार्ययोजना समावेश गरिएको हो ।
सोमबार बसेको पार्टीको पोलिटब्यूरो बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा पोलिटब्यूरो सदस्यहरुले उठाएका विषयसमेत केही समेटेर बुधबारको बैठकमा पेश गर्न लागिएको पार्टी स्रोतले जनाएको छ ।
केन्द्रीय कमिटीको पहिलो बैठकले पारित गरेको राजनीतिक प्रस्तावमा ‘दलाल नोकरशाही पूंजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्न र सामन्तवादको अवशेषका रूपमा रहेका आर्थिक शोषण, कुरीति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तत्कालीन मुख्य कार्यभार हुन’ भनिएको छ ।
ठोस राजनीतिक परिस्थिति आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनतर्फ राजनीतिक शक्तिहरू उन्मुख रहेको भन्दै निर्वाचनमा एकातर्फ प्रतिगमनकारी एवं अलोकतान्त्रिक शक्तिहरू हुने र अर्कोतर्फ लोकतन्त्र र अग्रगमनका पक्षधर शक्तिहरू हुने सो प्रतिवेदनमा उल्लेख गरिएको छ । एकीकृत समाजवादीले पार्टी कमिटीको पूर्णता र विस्तारलाई प्राथमिकतामा राखेको छ । ‘स्थानीय तहको निर्वाचन गाउँ तथा नगरपालिका र तिनका वडाहरूमा हुन्छ । जहाँ निर्वाचन हुने हो, त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन । हामीले सबै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौँ । कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौँ । यस्तो स्थिति अब रहिरहनु हुँदैन,’ अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन्, ‘गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ ।’
न्यस्तै जनसंगठनहरुको विस्तार गर्ने कार्ययोजना पनि निर्माण गरिएको छ भने संगठन निर्माणसँगै जन परिचालन समेत गर्नेगरी अघि बढ्ने तयारी पार्टीले गरेको छ । पार्टी पंक्तिमा विचार प्रवाह गर्न प्रशिक्षणमूलक अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । त्यसैगरी उक्त पार्टीले प्रचारात्मक कामलाई पनि तीव्रता दिने तयारीका साथ आवश्यक गृहकार्य थालेको छ । आर्थिक स्रोत पार्टी निर्माणको महत्वपूर्ण आधार भएकाले आर्थिक संकलन कार्यलाई पनि अघि बढाउने योजना अघि सारेको एकीकृत समाजवादीले प्रतिवेदनमा भनेको छ, ‘आर्थिक संकलनको काममा ध्यान दिइएन भने पार्टी निर्माण र विस्तार अभियान अघि बढ्न सक्तैन । त्यसैले, पार्टी र जन संगठनका हरेक कमिटीले आर्थिक संकलनको योजना तय गरेर कार्यान्वयनतर्फ लाग्नुपर्छ । निर्वाचनकाबेला निर्वाचन परिचालनका लागि विशेष आर्थिक कोष निर्माण गर्ने योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ ।’
पार्टीले अभिलेख व्यवस्थापनको कामलाई पनि प्रभावकारी ढंगले अघि बढाउँदै आगामी निर्वाचनको तयारीलाई मुख्य कामको रुपमा लिएको छ । अध्यक्ष नेपालको प्रतिवेदनमा निर्वाचन घोषणा पत्रको लेखन, निर्वाचन निर्देशिकाको निर्माण, उम्मेदवारको मापदण्ड निर्धारण र उम्मेदवार छनोट प्रक्रियाको निर्धारण तथा निर्वाचन परिचालन तथा सहयोग समिति बनाएर केन्द्रीत हुनेलगायतका विषय समेटिएको छ ।











