Logo
Logo

हेलिकप्टरबाट गोसाइँकुण्ड जाने तीर्थालु बढे


819
Shares

फाइल फोटो

रसुवा । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्ने तीर्थालुको संख्या बढ्दै गएको छ । गोसाइँकुण्डलाई जीवनमा एकपटक पुग्नैपर्ने धार्मिकस्थलको रुपमा लिइन्छ ।

उकालो बाटो हिँड्दा कठिन हुने भएकाले सजिलो यात्राका लागि पछिल्लोसमय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकप्टर प्रयोग गर्न थालेका हुन् । स्थानीय होटल व्यवसायी हेलिकप्टरमार्फत् गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको संख्या बढ्दोक्रममा रहेको बताउँछन् । गोसाइँकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित धार्मिकस्थल हो । हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र उक्त समस्या समाधान गर्न अक्सिजनसमेत व्यवस्था मिलाइएको हेलिकप्टर कम्पनीले बताएका छन् । गोसाइँकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिबिनायकदेखि कुण्डसम्म लेक लाग्ने समस्या बढ्छ । आउन जान तीन/चार दिनको समय लाग्ने एवं पैदल तथा हवाईमार्गको खर्च सरदरमा उत्तिकै पर्न जाने भएपछि पछिल्लो पुस्ताका यात्रुले हेलिकप्टर नै रोज्न थालेका हुन् ।

हेलिकप्टरले काठमाडौंको एयरपोर्टबाट २६ मिनेटमै गोसाइँकुण्ड पुर्याउने गरेको छ । दर्शनका लागि आधा घण्टा भन्दा बढी थप समय लाग्छ । हेलिकप्टरबाट दर्शनका लागि त्यहाँ पुग्ने यात्रहरु बिहानै भगवानको दर्शनपछि खाना खान घरमै पुग्ने गरेका यात्रुहरूको भनाइ छ । पैदलमार्गबाट तीर्थ पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत यो सुविधा उपयोगी भएकाले अचेल धेरै ज्येष्ठ नागरिकलाई गोसाइँकुण्ड दर्शन गराइसकिएको सेवा प्रदायक संस्थाले जनाएका छन् । गोसाइँकुण्ड दर्शनका लागि सिम्रिक, अल्टिच्युड, फिष्टेल, डाइनेष्टिक, कैलाश, माउण्टेन, मनाङ, प्रभुसमेतका हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

हवाइमार्गबाट गोसाइँकुण्डको तीर्थ गर्दा बाटोमा देखिने अग्ला सेताम्मे हिमाल, छ्याङ्छ्याङ् झरिरहेका पानीका झर्ना, हरियाली वन, ताल तलैयाले यात्रा मनमोहक बनाउने गरेको हावाइयात्रु काठमाडौं सीतापाइलास्थित जनउद्दार माविका शिक्षक राजु केसीले बताए । हेलिकप्टर गोसाइँकुण्डको डिलमा अवतरण गरेपछि भगवान शिवको दर्शन गर्दा आनन्दको अनुभूति प्राप्त हुने र हेलिप्याडको डिलबाटै केही तल अवस्थित सरस्वती एवं भैरव कुण्डसमेत देखिने भएकाले यो यात्रा थप रमाइलो बनेको शिक्षक केसी बताउँछन् । तामाको दियोमा गाईको घीउ राखेर बत्ती बाल्ने, कपुरले धूपदीप गर्ने, बसाह र त्रिशूल, जटाभएको नरिवल एवं पहेँलो बस्त्र चढाइ जौ, तिल, केसरी, बेलपत्र र फूलले पूजाआजा गर्नेपर्ने चलन रहेको पुजारी टंकप्रसाद ढकालले बताए । समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरेर प्राणी जगतलाई बचाउने देवताका पनि देव भगवान महादेव गोसाइँकुण्डमा शिवजी हुनु भएकाले एकपटक भने पनि तीर्थ जानुपर्ने मान्यता रहिआएको छ ।

प्रत्येक वर्ष गंगा दशहरा र जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने विशेष मेला भर्न पैदल मार्गबाट वार्षिक रूपमा २० औँ हजार भक्तजन सो क्षेत्र पुग्ने गरे तापनि कोरोना संक्रमण सुरु भएयता हवाइ यात्राको आर्कषण बढेको हो । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड तीर्थमा डबुल्की मारेपछि शरीरका रोग हट्ने र पूजाआजा गरेपछि मनोकांक्षा पूरा भई नयाँ सोच विचार आउने, घर परिवारमा सुखशान्ति बढ्ने विश्वास रहिआएको छ ।

पुस, माघ तथा फागुन महिनामा भने बढी हिमपात हुने कारण यस क्षेत्रको दृश्य निकै मनमोहक देखिन्छ । पोखरीमा हिउँ जमेको समयमा हवाइमार्गबाट गएका भक्तजनले भगवान विराजमान भएको पवित्र कुण्डमा हिँड्ने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिएको छ । धार्मिक मान्यताअनुरूप कुण्डमाथि हिँड्दा पुण्य प्राप्त नहुने र अर्काे तर्फ जमेको हिउँमाथि हिँड्दा हिँड्दै फुटेर गाडिन सक्ने समेत सम्भावना हुने भएकाले गोसाइँकुण्डको तालमाथि नहिँड्न पुजारीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्