काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहायता परियोजना एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छिन् । मन्त्री झाँक्रीले अरू धेरै देशले यो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एमसीसीका आलोचकहरूलाई प्रश्न समेत गरिन् ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज मङ्गलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधी विश्वमा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् । सरकारले स्वीकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई देशको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत गरिन् ।
मन्त्री झाँक्रीले भनिन्, ‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा बहस गरेर पास गरियो । अब हामीले गफ गरे जस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण यहाँ लागू हुने हो त ? त्यो हो भने त हामीभन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरूले के कुरा नबझुको हो ? हामी मात्रै सार्वभौकिताका लागि यति साह्रै चिन्तित भएको हो त ? त्यसो त नहोला ।’ मन्त्री झाँक्रीले एमसीसी संसदमा बहस भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्याएकी छिन् ।











