काठमाडौं । बैंकिङ क्षेत्रमा धेरै महिला ट्रेनीका रुपमा प्रवेश गर्दछन् । तर, रश्मी पन्तले भने सिधैं अधिकृत तहबाटै बैंकिङ करिअर सुरु गर्ने अवसर पाइन् ।
काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेपछि उनी सात वर्षअघि प्रभु बैैकमा प्रवेश गरेकी हुन् । बैंकमा प्रवेश गरेर सात वर्षमै पाँचाँै उच्च वरियताको चिफ अपरेटिङ अफिसरका रुपमा कार्यरत छन् ।
कार्यक्षमता मूल्याङकन र आन्तरिक प्रतिस्पर्धामा सफल भएरै उनी छोटो अवधिमै उच्च पदमा पुग्न सफल भएकी हुन् । यसमा उनले बैंकमा गरेको मेहेनत छँदै छ । आवश्यकता पर्दा दिनमा १२ घन्टासम्म खटिएर उनी काम गर्दछिन् ।

महिलाहरूलाई करिअर थप चुनौती भए पनि परिवारको सहयोग हुँदा सजिलो हुने उनको अनुभव छ । ‘महिलाहरुलाई पारिवारिक तथा सामाजिक दायित्वहरु छन्,’ उनी भन्छिन्, ‘तर परिवारबाट सहयोग हुने हो भनेर ती दायित्वहरु पार गरेर करिअर बनाउन सहज हुन्छ ।’
बैंकिङ क्षेत्रको जागिर सुरक्षित पनि भएको र लाइफ स्ट्यान्डर्ड कायम राख्न पनि सजिलो हुने भएकाले पनि यसतर्फ महिलाहरुको आकर्षण बढेको उनको बुझाइ छ । करिअरमा सफलताका लागि उनको एक मात्र सूत्र छ– धैर्यता र निरन्तर मेहेनत । उनी भन्छिन् ‘कहिलेकाहीँ सोचेअनुसार रिजल्ट नआउन सक्छ, तर पनि मिहेनत गर्न छाड्नुहुन्न ।’











