Logo
Logo

समाज बदलियो, नारीलाई हेर्ने दृष्टिकोण बदलिएन



पूर्व सहकर्मीको एउटा पंक्ति– ‘मलाई तिम्रो गृहमन्त्री होइन, आफ्नै प्रधानमन्त्री बन्नु छ ।’

पंक्तिमा दुई वस्तुगत अवस्था प्रस्तुत छ । एक, नारी अझै पनि पुरुषसँग निर्भर छन् । दुई, आजका नारी स्वतन्त्र र सक्षम छन् ।
हाम्रा संरचनाहरुले नारीलाई अझै विभेद गर्छ । पुरुषको तुलनामा कमजोर सावित गर्न खोज्छ । तर, आजको नारी स्वीकार्न तयार छैन । किनकी, आजका नारी हरेक दृष्टिकोणले समान हैसियत राख्दछन् । समाजले मात्र हो अझै पनि कमजोर भन्न रुचाउँने !

नारी कमजोर नै हुन् या कमजोर बनाइन्छन् ? यदि, कोहीबाट कमजोर बनाइन्छ भने किन ? कसले ? परिस्थितिले ? या, अरु महिलाले ? वा पुरुषले ? कि, आफैले आफैलाई ? यस्ता अनेक प्रश्नका जवाफ सहज छैनन् । तर, सामाजिक मूल्यमान्यताले भूमिका खेल्छ भन्नेमा मत मिल्न सक्ला !
०००

‘राम्रो पढ्छु, आफ्नो खुट्टामा उभिन्छु । पुरुषमा निर्भर हुन्न ।’ नारी सशक्तिकरणले ठूलो आकार लिइसक्दा पनि बोलिने र सुनिने यो नै हो । यसले नारी आफै पनि अझैसम्म कजोर महसुस गर्दैछन् भन्ने तथ्य बोल्छ ।

छोरी जन्मे दुःख मान्ने समाज छोरा जन्मदा युद्ध जिते झै हर्षबढाइँ गर्छ । अर्थात, समाज विभेद रुचनाउँछ । र, नारीमाथि सधैं विभेद गर्छ । त्यसैले त भनिन्छ– ‘समाज बदलियो तर नारीलाई हेर्ने दृष्टिकोण बदलिएन ।’

किन यस्तो हुन्छ ? भन्ने प्रश्नको जवाफ नारीप्रति हेर्ने पुरुषवादी दृष्टिकोण कारक हो भन्नु पर्छ । सामाजिक मूल्यमान्यता, संस्कार र संरचनागत विभेदले नारीलाई कजोर देखाउँछ । त्यसभित्र संकुचित र संकीर्ण पितृसतात्मक मनोभाव पर्छ ।

समाजले आधुनिकताको पगरी गुथिसक्यो । त्यसैले समाज परिवर्तन भयो भनियो । नयाँ व्यवस्थासँगै लैङ्गीक विभेद पनि अन्त्य भएको मानियो । तर, नारीलाई गरिने विभेद यथावत छ । त्यसैले त भनिन्छ– ‘समाज बदलियो तर नारीलाई हेर्ने दृष्टिकोण बदलिएन ।’
०००

कुनै पुरुषले कुनै नारीलाई चाडै प्रेम आभास गराए समाजले भन्छ– ‘केटो क्या खत्रा रैछ । त्यो केटीलाई छिनभरमै पट्यायो ।’

यदि, कुनै नारीले पुरुषलाई प्रेम व्यक्त गरे मात्र पनि समाजले कुरा काट्छ– ‘केटी त क्या चालू रैछे । केटालाई प्रपोज गरि यार !’

आजको व्यवस्थामा कमजोर र बलियोको मापक शारीरिक वा लैङ्गिक अवस्था होइन । आर्थिक, सामाजिक वा अन्य दक्षता निर्भर हुन्छ । तर, हाम्रो समाजले लैङ्गिकताकै आधारमा कमजोर र बलियो सावित गर्न खोज्छ ।
०००

पुरुषको गुण खोजिन्न । तर समाज ३२ लक्षणयुक्त नारी चाहन्छ । नारी सुन्दरतामा आधारित सौन्दर्य व्याख्या– कोकिल कण्ठ स्वर ! मृग नयनी आँखा, बारुली कम्मर, कलेटी परेको ओठ आदि इत्यादी ।

के सबै नारीमा प्रस्तुत ब्याख्या मेल खान्छ त ? यो सम्भव हुँदैन । यी त केवल नारीलाई कमजोर देखाउन रचिएका विभेद हुन् । अर्थात नारी सौन्दर्यमा आधारित व्याख्या नै विभेदकारी छ ।
०००

‘छोरी जस्तो हुँदैन बुहारी, आमा जस्तो हँदैन सासू’ अर्थात नारीले नारीप्रति बनाउने धारणा ! बुहारीलाई पनि छोरी जस्तै, सासूलाई पनि आमा जस्तै माया र सम्मान नगर्दा यस्ता धारणा बन्छन्, बनेका हुन् । आफ्नी बुहारी कसैकी छोरी र आफ्नी छोरी कसैको बुहारी भनेर बुझ्न सकेको भए छोरी र बुहारी, आमा र सासूप्रति यस्तो धारणा बन्दैनथ्यो । अथार्त, नारीप्रति यसरी पनि विभेद भइरहेको छ । त्यो पनि नारीबाटै ।

हाम्रो समाजले धनी केटा खोजेर शुख दिन छोरी अन्माएर पठाउँछ । तर, दुःख गर्न बुहारी भित्र्याउँछ । छोरीले दुःख पाउँदा रुने आमा बुबा बुहारीले शुख पाउँदा मात्तिएको ठान्छ । छोरीका लागि शुख खोज्नेहरु घर भित्रने बुहारीले पनि दुःख पो पाउलान् किन भनेर सोच्दैनन् । ‘छोरीले धेरै पढ्नु पर्छ, नत्र अरूले हेप्छ’ भन्नेहरु बुहारी पढाउँदा टाउकोमा टेक्छ’ भन्ने सोचबाट निर्देशिन हुन्छन् । नारीमाथि विभेदको यो एउटा पाटो हो ।
०००

छोरालाई फुक्काफाल छोड्ने समाजले छोरीलाई सामाजिक बन्धनको घेरामा राख्छ । छोराले छानी–छानी श्रीमती रोज्ने सुविधा पाउँछ । तर छोरी, जीवन साथी रोज्ने सुनौलो र नैसर्गिक अधिकारबाट पनि बञ्चित हुन्छ । छोरा पुर्खौली विर्तामा हक राख्छ । तर छोरी, दाइजोमा चित्त बुझाउँछ । छोरा उमेर पुगेपछि परदेश जाने हक राख्छ । तर, छोरी उमेर पुगेपछि पराईघर जाने बाध्यतामा फस्छ । छोराले पढ्नुपर्छ भनेर हौसला पाउँछ । तर छोरी, अर्काको घर स्याहार्नेले किन पढ्नु पर्यो भनेर विभेद खेप्छ ।
मुख्य कुरा त-
छोरी जन्मे दुःख मान्ने समाज छोरा जन्मदा युद्ध जिते झै हर्षबढाइँ गर्छ । अर्थात, समाज विभेद रुचनाउँछ । र, नारीमाथि सधैं विभेद गर्छ ।
०००

भनिन्छ– ‘नरनारी एक रथका दुई पाङ्ग्रा ।’ प्रस्तुत धारणालाई आधार मान्ने हो भने एक पाङ्ग्राले मात्र रथ चल्दैन भन्ने सत्य स्वीकार्न सक्नुपर्ने हो । यदि, दुबै पाङ्ग्रा समान भएनन् भने रथ गुड्दैन भनेर पनि बुझ्नुपर्ने हो । अर्थात नारी कजमोर हुनु भनेको घर कमजोर हुनु हो । पुरुष कमजोर हुनु पनि घर नै कमजोर हुनु हो । यत्ति कुरा बुझे त विभेत हुन्नथ्यो सायद ।

हामी, नारी–पुरुष बराबर भन्छौं । बराबर हुनुपर्छ पनि भन्छौं । तर, हामीले भन्ने र गर्ने कुराको तादम्यता मिलेको छैन । त्यसैले विभेदलाई प्रसय दिइरहेको छ । सोही विभेदले हामीलाई मानव विकासको एउटा चरणभन्दा धेरै पछि छोडिएका छौं ।
०००

व्याख्याले मात्र होइन, व्यवहारले पनि नारी र पुरुष बराबर भनेर पल–पल प्रमाणित भइरहेको छ । पुरुषले गर्न नसकेका असंख्यक कामहरु नारीको चाहनामा सम्भव भएका छन् । तर, अझै पनि हामी ‘एउटा छोरा त चाहिन्छ’ भनिरहेका छौं । हामीमा ‘छोरी नै पुगिसरी’ भन्ने भाव नै पैदा हुँदै ।

हामीलाई सन्तान होइन, वंशको निरन्तरता चाहिको छ । बुढेसकालको सहारा होइन, अंशको हकदार चाहिएको छ । हामीलाई कसैको बुहारी बन्ने छोरी होइन, कसैको ज्वाइँ बन्ने छोरा चाहिएको छ ।

उही नारी र पुरुषको समागमबाट जन्मने छोरा सन्तान हुने तर छोरी सन्तान नहुने हाम्रो मानसिकतामा अझै पनि परिवर्तन भएको छैन । अर्थात, अझै पनि हामी नारीलाई विभेद गरिरहेका छौं, नारी अस्तित्व स्वीकार गर्न तयार छैनौं ।
०००

हरेक साल नारी दिवस मनाइन्छ । दिवस लक्षित कार्यक्रममा समानताका ठूला–ठूला मैदानहरु सम्याइन्छ । यसरी नै वर्षौ बित्यो तर अवस्था जस्ताको त्यस्तै छ । अर्थात बोल्नु र गर्नुबीचको दूरी निक्कै लामो छ । नारी र पुरुषबीच बनाइएको असमानताको खाडल बोलेर पुरिन्न, व्यवहारले मात्र सम्भव छ ।

सार्वजनिक समारोहरुमा बोलिने कुरा व्यवहारमा उर्तान सानो यत्नले सम्भव छैन । जसरी मैनबत्ती आफू जलेर अरुलाई उज्यालो दिन्छ त्यसरीनै हरेक मानिस आफू परिवर्तन भएर समाज परिवर्त गर्न तयार हुनुपर्छ । आफू बद्लेर नारीलाई विभेद हुने संस्कार, संस्कृति, रीतिरिवाज र परम्पराहरु बदल्ने हिम्मत सबैमा नभएसम्म विभेद कायम रहन्छ ।

प्रतिक्रिया दिनुहोस्