काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालको पदावधि सकिएसँगै बिदाइ गरिएको छ। नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले शुक्रबार प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहका बीच मायाको चिनो प्रदान गरी अर्याललाई बिदाइ गरेका हुन्।

सो अवसरमा अर्यालले नयाँ आईजीपी पौडेललाई संगठन प्रमुखको ‘कमान्ड स्टिक’ (छडी) र सशस्त्र प्रहरी बल नेपालको झन्डा हस्तान्तरण गर्दै नेतृत्व सुम्पिएका छन्। सोही क्रममा अर्यालले पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बरबुझारथ समेत गरे।
बिदाइ समारोहलाई सम्बोधन गर्दै अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक कार्यकाल पुरा गर्नुलाई जीवनको महत्त्वपूर्ण उपलब्धि तथा गौरवको विषय भएको बताए। उनले सशस्त्र प्रहरी संगठनलाई परिवारको रूपमा लिएर अनुशासन, त्याग, इमानदारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको अनुभव सुनाए।
“संगठन सुधार कुनै एक प्रमुखको कार्यकालमा सुरु भएर अर्कोको पालामा सकिने विषय होइन, यो निरन्तर चलिरहने प्रक्रिया हो,” अर्यालले भने। उनले आफ्नो सेवाकालमा साथ र सहयोग दिने सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई धन्यवाद समेत दिए।
नयाँ आईजीपीको प्रतिबद्धता
नवनियुक्त आईजीपी पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने धारणा राखे। उनले भने, “यो केवल एउटा अध्यायको समाप्ति र अर्को जिम्मेवार यात्राको सुरुवात हो। सेवा निवृत्त हुन लाग्नुभएका महानिरीक्षक अर्यालको सुखद र सम्मानित भविष्यको कामना गर्दछु। उहाँको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि संगठनका लागि प्रेरणा बनिरहनेछ।”
समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष सावित्राकुमारी पौडेलले फूलमालासहित बिदाइ गरेकी थिइन्।











